नेकपा एमालेक सचेतक महेश बर्तौलाले कांग्रेस सबैभन्दा ठूलो दल भएर पनि माओवादीको इशारामा चलेको बताएका छन्।
शनिबार प्रेस चौतारी नेपालले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बर्तौलाले कांग्रेसले आफ्नो हैसियत बिर्सिएर माओवादीको इशारामा चल्नु दुर्भाग्य रहेको बताएका हुन्।
‘माउतेले डोराएको हात्तीजसरी कांग्रेस सरकारको इशारामा लुरुलुरु हिँडिरहेको छ,’ उनले भने।
सुन प्रकरणको छानबिनका लागि आफ्नै दलका सांसदहरूले उच्चस्तरीय छानबिन समिति बनाउन माग गरेपनि नेतृत्व माओवादीको इशारामा चलेका कारण उक्त विषय ओझेलमा परेको बर्तौलाको भनाइ छ।
माओवादीकै इशारामा चल्दा कांग्रेसले ठूलो दलको भूमिका निर्वाह गर्न नसकेको उनले बताए। भुटानी शरणार्थी प्रकरण देखाएर कांग्रेसलाई, गौर हत्याकाण्ड देखाएर जसपालाई र ललिता निवास प्रकरण देखाएर माधव नेपाल र बाबुराम भट्टराईलाई माओवादीले तर्साइरहेको उनको भनाइ छ।
उनले सरकार सुशासन कायम गर्छु भन्दै तस्करहरूको संरक्षणमा लागेको आरोप लगाए। सुन तस्करीमा माओवादीकै नेताहरूको संलग्नता देखिएको तर सरकार पूर्वाग्रही भएर कसैलाई फसाउन र कसैलाई उन्मुक्ति दिन लागि परेको बर्तौलाले बताए।
‘सुन तस्करीमा संलग्नता देखिएको रेडी ट्रेडले चार महिनामा ३३ पटक सामान ल्याउँदा मन्त्री र सरकारका संयन्त्रहरुलाई जानकारी नहुने भन्ने हुँदैन,’ उनले भने।
सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने अडानबाट एमाले पछि नहट्ने पनि उनले बताए। छानबिन समितिको माग गर्दा सदनमा सत्तापक्षले प्रतिपक्षलाई बोल्नै नदिएर मुख थुनेको उनले बताए।
‘सरकारका मन्त्रीहरुले संसदलाई महत्व दिन सकेका छैनन्, आठ नौं महिनाको अवधीमा एउटामात्र संसोदित विधेयक आएको छ, यसले पनि सरकार संसदलाई कानुन निर्माण गर्ने थलो बनाउन चाहँदैन भन्ने पुष्टि भएको छ,’ बर्तौलाले भने।