राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ।
आइतबार साँझ राष्ट्रपति पौडेलले संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग शितलनिवासमा छलफल गरेका हुन्।
छलफलका क्रममा समसामयिक राजनीतिक घटनाक्रम र संसदको गतिरोधबारे छलफल भएको प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
यसैबीच, संसदको गतिरोध अन्त्य गर्नेबारे छलफल गर्न राष्ट्रपति पौडेलले सर्वदलीय बैठक बोलाएका छन्।
संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलका शीर्ष नेताहरूलाई राष्ट्रपति पौडेलले मंगलबार बिहान साढे ८ बजे बैठकका लागि शितल निवासमा बोलाएको पोखरेलले जानकारी दिए।
यसअघि राष्ट्रपति पौडेलले संसदको गतिरोध अन्त्य गर्ने विषयमा सभामुख देवराज घिमिरे, प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए।
६० किलो सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति माग गर्दै गत साउन १० गतेदेखि लगातार संसद अवरोध गरिरहेको छ।