नेकपा (एकीकृत समाजवादी)को पोलिटब्युरो बैठक आज पनि बस्दै छ।
बैठक सोमबार बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सुरू हुने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
एकीकृत समाजवादीको १०३ सदस्यीय पोलिटब्युरोमा आइतबार २६ जनाले धारणा राखेका थिए।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष माधवकुमार नेपालले पार्टी सबै चुनौतीहरूको सामना गर्दै अगाडि बढ्न कम्मर कसेर लागेको बताएका थिए।
‘एकीकृत समाजवादी समयको माग हो। यसको महत्त्व दिन-प्रतिदिन बढिरहेको छ,’ अध्यक्ष नेपालको भनाइ उद्धृत गर्दै एकीकृत समाजवादीका उपमहासचिवसमेत रहेका जगन्नाथ खतिवडाले भने, ‘हाम्रो पार्टी कम्युनिस्ट विचारधाराभित्रको उत्तम विकल्प हो। एकीकृत समाजवादी सदैव राष्टियताको रक्षा र सम्बर्द्ध गर्न जनजीविकाका लागि संघर्ष गर्न र समाजवादको ध्येय पूरा गर्न कटिबद्ध छ। जनतालाई सुशासन प्रदान गर्न दत्तचित्त छौं।’
अध्यक्ष नेपालले सरकारलाई भ्रष्टाचार विरोधी कार्यलाई निरन्तरता दिन पनि आह्वान गरेका थिए।
बैठकमा वर्तमान राष्ट्रिय परिस्थितिबारे छलफल भइरहेको पवक्ता जगन्नाथ खतिवडाले बताए।
सोमबारसम्म चल्ने बैठकमा संगठन सुदृढीकरणको रिपोर्टिङ, पार्टीका सैद्धान्तिक–वैचारिक सवाल र पार्टीको संगठनात्मक अवस्थाबारे छलफल हुने उनले बताएका छन्।
त्यस्तै पार्टीका देखा परेको आन्तरिक समस्या र आगामी कार्ययोजना पनि बैठकको कार्यसूचीमा रूपमा छन्।
आगामी कार्ययोजनामा संगठनात्मक अभियान र महाधिवेशनबारे छलफल हुने छ। बैठकमा धारणा राख्ने पोलिट्ब्युरो सदस्यलाई नेतृत्वलाई रचनात्मक सुझाव दिन पनि भनिएको छ।
एकीकृत समाजवादीमा पछिल्लो समय पार्टी राजनीतिक कार्यदिशामा मतभेद देखा परेको छ। असार २९ देखि साउन ५ गतेसम्म चलेको सचिवालय बैठकले पार्टीको राजनीतिक कार्यदिशाका रूपमा जनताको बहुदलीय जनवादको सान्दर्भिकता रहेको र यसलाई समाजवादी आन्दोलनको रूपमा विकास गर्नुपर्ने निष्कर्ष निकालेको थियो।
साउनको २० र २१ गते बसेको पार्टी स्थायी कमिटीको बैठकमा पनि यसबारे बहस भएको थियो। पार्टीका सम्मानित नेता झलनाथ खनालले जनताको बहुदलीय जनवादको सान्दर्भिकता नरहेको वैज्ञानिक समाजवादी कार्यदिशा अंगीकार गर्नुपर्ने धारणा राखेका थिए।
उनले पार्टी उल्टो पिरामिणको ढाँचामा गएको टिप्पणी गरेका थिए। कार्यकर्ताभन्दा नेता धेरै हुने र दस टाउके रावणजस्तो, तल सुक्दै गएको, माथि फुक्दै गएको आकारको संरचनाले पार्टी चल्न नसक्ने बताएका थिए।
२०७८ भदौ २ गते एमालेबाट विभाजन भएर पार्टी बनेको तर त्यतिबेलाको विद्रोहको औचित्य पुष्टि हुन नसकेको भन्दै प्रश्न उठाएका थिए।
एकीकृत समाजवादीको केन्द्रीय कमिटी भदौ ५, ६, ७ गते बालकुमारीमा बस्ने छ।
सचिवालय, स्थायी कमिटी र पोलिट्ब्युरोमा बैठकमा भएका छलफल, उठेका विषयलाई एकीकृत गरेर केन्द्रीय कमिटीमा लैजाने पार्टीको तयारी छ।
त्यस्तै एकीकृत समाजवादीले पहिलो महाधिवेशनको पनि तयारी गरेको छ। सचिवालय र स्थायी कमिटी बैठकमा माघभित्र महाधिवेशन गरिसक्नुपर्ने कुरा उठेको थियो।