बुटवल उपमहानगरपालिकाले आफ्नो अलग्गै प्रतीक चिह्न (लोगो) बनाउने भएको छ।
गत साउन २५ गते बसेको आर्थिक वर्ष २०८०/८१ को दोस्रो कार्यपालिका बैठकले उपमहानगरपालिकाको आफ्नै लोगो निर्माण गर्ने निर्णय गरेको थियो।
सोही निर्णय अनुसार आकर्षक बुटवलको पहिचान झल्किने प्रतीक चिह्न बनाउनेलाई २५ हजार रुपैयाँ दिने उपमहानगरपालिकाले जनाएको छ।
उपमहानगरपालिकाले बुटवलको पहिचान झल्किने गरी लोगो निर्माण गर्न लागेकोले इच्छुक व्यक्तिहरूका लागि सार्वजनिक रूपमा आह्वान गरेको छ भने लोगोमा समेट्नुपर्ने आवश्यक मापदण्ड समेत खुलाएको छ।
उपमहानगरपालिकाले तोकेको मापदण्डमा लोगोमा बुटवलको ऐतिहासिक, भौगोलिक, प्राकृतिक, सामाजिक, साँस्कृतिक एवं विशिष्ट मौलिक पहिचान झल्किने हुनुपर्ने र नेपालको झण्डा र बुटवल उपमहानगरपालिकाको नाम अनिवार्य रूपमा समावेश भएको हुनुपर्ने भनिएको छ।
कुनै पनि धार्मिक, जातीय तथा साम्प्रदायिक विभेद झल्कने, सामाजिक सद्भावमा खलल पुग्ने तथा नेपालको सार्वभौमिकता, एकता र अखण्डतामा प्रतिकूल असर गर्ने संकेत प्रयोग गर्न पाइने छैन भने प्रयोग गरिएका संकेतहरूको संक्षिप्त व्याख्या समेत गरेको हुनुपर्ने छ।
त्यस्तै, बहुरङ्गमा छपाइ गरी प्रयोगमा ल्याउन मिल्ने गरी निर्माण गरिएको हुनुपर्ने छ भने प्रतिस्पर्धाका लागि एक जना व्यक्तिले एउटा मात्रै प्रतीक चिह्न पेश गर्नुपर्ने छ।
त्यसैगरी इन्टरनेट वा यसअघि प्रयोग भएका सामग्रीको प्रयोग गर्न पाइने छैन भने प्रतीक चिह्न उपलब्ध गराउँदा डिजिटल फरम्याटमा उपलब्ध गराउनुपर्ने मापदण्ड तय गरेको छ।
आगामी भदौ २४ गतेभित्र निर्माण गरी बुझाएका प्रतीक चिह्नबाट छनोट भएको उत्कृष्ट प्रतीक चिह्नलाई उपमहानगरपालिकाले आफ्नो प्रतीक चिह्नका रूपमा प्रयोग गर्ने छ भने डिजाइनकर्तालाई २५ हजार रुपैयाँ नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिने सूचनामा उल्लेख छ।
यसअघि तत्कालीन बुटवल नगरपालिकाले २०५४ सालमा जितगढी अंकित प्रतीक चिह्न निर्माण गरी प्रयोगमा ल्याएको थियो।
सरकारले सबै सरकारी कार्यालय, निकाय तथा स्थानीय तहहरूलाई प्रतीक चिन्हको रूपमा निशान छाप नै प्रयोग गर्न निर्देशन दिएपछि जितगढी अंकित प्रतीक चिह्न चलनचल्तीबाट हटेको थियो। अहिले भने बुटवलले अलग्गै प्रतीक चिह्न बनाउन लागेको हो।