संसदको गतिरोध अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) सहभागी नहुने देखिएको छ।
संसदका विषयमा राष्ट्रपति पौडेलले अनावश्यक सक्रियता देखाएको भन्दै एमाले उक्त बैठकमा सहभागी नहुने भएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले संसदको गतिरोध अन्त्य गर्न दलहरूसँग बैठक गरिरहेकाले त्यही विषयमा राष्ट्रपतिले पनि बैठक गर्नु आवश्यक नरहेको एमालेका एक शीर्ष नेताले बताए।
'प्रधानमन्त्रीले हिजो बैठक गर्नुभयो, आज पनि हामी बस्दैछौं,' एमालेका ती नेताले भने,'यही विषयमा राष्ट्रपतिले पनि किन बैठक राख्नुभएको हो हामीले बुझेका छैनौं।'
राष्ट्रपति पौडेलले मंगलबार बिहान संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलका शीर्ष नेताहरूलाई शितल निवासमा बोलाएका छन्।
एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बैठकबारे आफूहरूलाई थाहा नभएको बताए।
'राष्ट्रपतिले बैठक बोलाएको हामीलाई थाहा छैन,' उनले भने।
विमानस्थलबाहिर बरामद भएको ६० किलो सुनबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति माग गर्दै एमालेले साउन १० यता लगातार संसद अवरोध गरिरहेको छ।
राष्ट्रपति पौडेलले यसअघि संसदको गतिरोध अन्त्य गर्नेबारे सभामुख देवराज घिमिरे र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए।