सुन प्रकरणबारे छानबिन गर्न बनाइने समितिको कार्यादेश र त्यसको संरचना मंगलबार टुंगो लगाइँदै छ।
उच्चस्तरीय समितिको कार्यादेश, निर्देशित सर्त र त्यसको संरचनाको मस्यौदा आज तयार पार्न लागिएको हो।
सोमबार राति सिंहदरबारमा राष्ट्रिय मान्यता प्राप्त दलबीच सुन प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय समिति बनाउने निर्णय भएको थियो।
उच्चस्तरीय समितिका लागि निर्देशित सर्तहरू तयार पार्न नेपाली कांग्रेसका नेता रमेश लेखक, नेकपा एमाले नेता सुवास नेम्वाङ र माओवादी नेता हितराज पाण्डे रहेको कार्यदल बनाउने सहमति भएको थियो।
कार्यदलले मंगलबार बिहान ११ बजेसम्म समितिको मस्यौदा तयार पार्नेछ। यसलाई अन्तिम रूप दिन मंगलबारै दिउँसो २ बजे शीर्ष नेताहरूको बैठक फेरि बस्नेछ।
मस्यौदामा सहमति भएर मंगलबारदेखि सदनको अवरोध हट्ने नेताहरूले विश्वास व्यक्त गरेका थिए।
‘सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्छ भनेर एमालेले आज पनि आफ्नो अडान राख्यो। यसमा सरकार सकारात्मक छ,’ एमालेका प्रमुख सचेतक गिरीले बैठकपछि भनेका थिए, ’उच्चस्तरीय छानबिन समिति बनाउने सहमतिमा सरकार कायम रह्यो भने भोलि सदन खुल्छ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि सदन खुल्नेमा आफू विश्वस्त रहेको बताएका थिए।
‘यसका लागि मस्यौदा तयार पार्ने कुरा भएको छ,’ उनले भने, ’सहमति भएर भोलि संसद खुल्नेमा म विश्वस्त छु।’
सत्तारूढ नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद अवरोध अन्त्य गर्न सबै विकल्प र सम्भावनामा छलफल भएको बताएका थिए।
‘सोमबारको बैठकमा सकारात्मक छलफल भएको छ। मंगलबार फेरि बैठक बसेर यो विषय टुंगो लगाउँछौं,’ उनले भनेका थिए, ‘संसद चल्नेमा हामी आशावादी छौं ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर बरामद भएको ६० किलो सुनबारे छानबिन गर्न उच्चस्तरीय समिति माग गर्दै प्रतिपक्षी एमालेले साउन १० यता लगातार संसद अवरोध गरिरहेको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अडानअनुरूप नै सुन प्रकरणबारे जाँचबुझ गर्न उच्चस्तरीय समिति बनाउन सबै सहमत भएका हुन्।