नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक आज (मंगलबारबाट) सुरू हुँदै छ। ललितपुरको बालकुमारीमा मंगलबार बिहान ११ बजेबाट बैठक सुरू हुने पोलिटब्युरो सदस्य दिलुकुमारी पन्तले जानकारी दिइन्।
बैठकमा पार्टीका सबै तहका कमिटी तथा जनवर्गीय सङ्गठनको समीक्षा गरी महाधिवेशनको मिति र स्थान तय गरिने छ। पार्टी स्थापना भएको करिब दुई वर्षमा पनि महाधिवेशन हुनसकेको छैन।
त्यस्तै सचिवालय, स्थायी कमिटीले गरेका निर्णयहरू पनि अनुमोदन गरिने पन्तले जानकारी दिइन्।
भदौ ७ गतेसम्म चल्ने बैठकमा राजनीतिक परिस्थिति एवं घटनाक्रमका साथै सङ्गठनको पुनःगठन, पार्टीको भूमिकालाई सशक्त बनाउने विषयमा छलफल गरिने छ।
बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले पार्टीको वैचारिक दृष्टिकोणसहितको राजनीतिक प्रतिवेदन तथा महासचिव भुसालले साङ्गठनिक प्रतिवेदन बैठकमा छलफलका लागि पेस गर्ने छन्। ती दुवै प्रतिवेदनमा आवश्यक सुझावसहित परिमार्जन गरिने छ।
एकीकृत समाजवादीमा पछिल्लो समय पार्टी राजनीतिक कार्यदिशामा मतभेद देखा परेको छ। असार २९ देखि साउन ५ गतेसम्म चलेको सचिवालय बैठकले पार्टीको राजनीतिक कार्यदिशाका रूपमा जनताको बहुदलीय जनवादको सान्दर्भिकता रहेको र यसलाई समाजवादी आन्दोलनको रूपमा विकास गर्नुपर्ने निष्कर्ष निकालेको थियो।
साउनको २० र २१ गते बसेको पार्टी स्थायी कमिटीको बैठकमा पनि यसबारे बहस भएको थियो। तर, पार्टीका सम्मानित नेता झलनाथ खनालले जनताको बहुदलीय जनवादको सान्दर्भिकता नरहेको भन्दै वैज्ञानिक समाजवादी कार्यदिशा अंगीकार गर्नुपर्ने धारणा राखेका थिए।
उनले पार्टी उल्टो पिरामिणको ढाँचामा गएको टिप्पणी गरेका थिए। कार्यकर्ताभन्दा नेता धेरै हुने, दस टाउके रावणजस्तो, तल सुक्दै गएको, माथि फुक्दै गएको आकारको संरचनाले पार्टी चल्न नसक्ने बताएका थिए।
२०७८ भदौ २ गते एमालेबाट विभाजन भएर पार्टी बनेको तर त्यतिबेलाको विद्रोहको औचित्य पुष्टि हुन नसकेको भन्दै प्रश्न उठाएका थिए।
आइतबार र सोमबार पोलिटब्युरोको बैठक बसेको थियो। बैठकमा अध्यक्ष नेपालले नेकपा (एकीकृत समाजवादी) गठनको औचित्य पुष्टि भएको बताएका थिए। पार्टीभित्र विद्रोह नगरिएको भए नेकपा (एमाले)का अध्यक्ष ओलीले संविधान, संघीयतालगायत उपलब्धी नै खतरामा पार्ने बताएका थिए।