राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको बैठकमा नेकपा (एमाले) अनुपस्थित भएको छ।
राष्ट्रपति पौडेलले कार्यसूची नै राखेर बैठक बोलाएको भन्दै आज नजाने निष्कर्षमा पुगेको एमाले सचेतक महेश बर्तौलाले जानकारी दिए।
‘राष्ट्रपतिले चिया मात्रै खान बोलाउनु भएको होइन, एजेन्डा नै राखेर बैठक बोलाउने कुरा गलत हो, त्यही भएर हामी सहभागी भएनौं,’ सचेतक बर्तौलाले भने।
संसदको जारी गतिरोध अन्त्य गर्नेलगायत विषयमा राष्ट्रपति पौडेलले बैठक आज बैठक बोलाएका हुन्। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित संसद्मा प्रतिनिधित्व गर्ने सबै दल सहभागी छन्।
राष्ट्रपतिले संसद्को गतिरोध हटाउनभन्दै एजेन्डा नै राखेर बैठक बोलाएपछि एमाले असन्तुष्ट बन्न पुगेको हो।
सोमबार सेतोपाटीसँग कुराकानी गर्दै एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बैठकबारे आफूलाई थाहा नभएको बताएका थिए।
‘हामी त प्रधानमन्त्रीले बोलाएको छलफलमा जाँदै छौं, राष्ट्रपतिले बोलाइको बारे थाहा भएन,’ उनले प्रतिक्रिया थियो।
शीतल निवासमै पोखेका थिए एमाले अध्यक्ष ओलीले असन्तुष्टि
गत साउन ३१ गते राष्ट्रपति पौडेलले बोलाएपछि एमाले अध्यक्ष ओली उनलाई भेट्न शीतल निवास गएका थिए।
त्यहाँ राष्ट्रपति पौडेलले एमाले अध्यक्ष ओलीलाई सदनको गतिरोध हटाउन आग्रह गरेका थिए।
‘सदन नियमित सञ्चालन हुनुपर्छ। जनताको आवाज बोल्ने थलो अवरूद्ध हुनुहुँदैन। सदन कार्यसूचीमा प्रवेश गर्न नसक्दा जनतामा निराशा छाएको छ। यसको जम्मे दोष तपाईंलाई आउँछ,’ राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै एमालेका एक नेताले भने।
राष्ट्रपतिको त्यो भनाइबाट ओली असन्तुष्ट बनेका थिए।
‘उहाँले अलि बढी नै सक्रियता देखाउन खोज्नु भएछ। राष्ट्रपतिले सदन अवरोधको दोष अध्यक्ष ओलीकै थाप्लामा आउँछ भनेपछि उहाँले त्यहीँ असहमति जनाउनुभयो,’ एमालेका एक नेताले भने।
नागरिकतासम्बन्धी निष्क्रिय ऐन प्रमाणीकरण गर्ने, अदालतको फैसलालाई अनदेखा गरेर रेशम चौधरीलाई कैद माफ गरिदिनेलगायत काम गरेर राष्ट्रपति संविधानभन्दा दायाँबायाँ जाना खोज्ने, संसद्को अवरोधको दोषी हामीलाई करार गर्ने भन्दै ओलीले असन्तुष्टि राखेको एमालेका एक नेताले बताए।
एक नेताले दिएको जानकारीअनुसार राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकबारे एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि असन्तुष्टि राखेको थियो।
‘प्रधानमन्त्री राति १० बजेसम्म राष्ट्रिय दलसँग बसेर सहमति गर्न खोजिराख्नु भएको छ। आज दिउँसो पनि बैठक बस्दै छ,’ ती नेताले भने, ‘राष्ट्रपतिले फेरि किन बैठक बोलाउनुपर्यो!’