नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको बहुदलीय जनवादको सान्दर्भिकता अझै बाँकी रहेको बताएका छन्।
मंगलबारदेखि सुरू भएको पार्टीको छैठौं केन्द्रीय कमिटीको बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष नेपालले जबजबाट समाजवाद भने पुर्याउन नसकिने निष्कर्ष सुनाए।
‘जनताको बहुदलीय जनवादमा सामन्तवादविरूद्ध अगाडि सारिएका राजनीतिक माग, नारा र मूल्य मान्यताहरू संविधानमा संस्थागत भएका छन्। यो उपलब्धीको पक्ष हो। जनताको बहुदलीय जनवाद सामन्तवादविरोधी कार्यक्रममात्र होइन, दलाल नोकरशाही पुँजीवादविरोधी कार्यक्रम पनि हो। यो राजनीतिक कार्यक्रममात्र पनि होइन, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको कार्यक्रमसमेत हो। यसले अगाडि सारेका आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणका कार्यक्रमहरू व्यवहारमा लागू भइसकेका छैनन्,’ नेपालको राजनीतिक प्रतिवेदनमा भनिएको छ।
जबजले जनवादबाट समाजवादमा पुग्न तीन चरण भएर अगाडि बढ्ने मार्गचित्र प्रस्तुत गरेको उनले बताएका छन्।
‘ती तीन चरणमा हामी लोकतान्त्रिक मार्गबाटै हिँड्ने छौं। हामीले कम्युनिष्ट पार्टी लोकतान्त्रिक प्रतिस्पर्धाबाट समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्न चाहन्छ भन्ने मान्यता राखेका छौं। नेपाली विशेषताको समाजवाद लोकतान्त्रिक मूल्य मान्यता सहितको हुनेछ भन्ने मान्यता पनि राखेका छौं। जबजले केवल राज्यसत्ताको मात्र होइन कम्युनिष्ट आन्दोलन र पार्टीको लोकतान्त्रीकरणको मान्यता पनि राखेको छ। साथै प्रतिस्पर्धा र पहलकदमीद्वारा श्रेष्ठता एवं अगुवाइ हासिल गर्ने मान्यता पनि जबजले राखेको छ। यी सबै सन्दर्भमा जबजको सान्दर्भिकता छ। तथापि जबज समाजवादी क्रान्तिको मार्गदर्शक सिद्धान्त भने होइन। समाजवादी क्रान्तिको मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद हो। यसमा हाम्रो पार्टी प्रष्ट छ,’ उनले भनेका छन्।
एकीकृत समाजवादीमा वैचारिक मतभिन्नता देखा परेको छ। पार्टीका सम्मानित नेता झलनाथ खनालले भने एमालेले मार्गदर्शक सिद्धान्त मानेको जबजको उपादेयता सकिइसकेको बताएका थिए।
उनले स्थायी कमिटी बैठकमा वैज्ञानिक समाजवादी विचार अँगाल्नुपर्ने भन्दै फरक दृष्टिकोण राखेका थिए।
पढ्नुहोस् दस्तावेज