नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अस्वस्थताको कारण देखाउँदै नआएपछि सर्वदलीय बैठक स्थगित भएको छ।
मंगलबारको बैठकमा कार्यदलले मस्यौदा बुझाउने र सर्वदलीय बैठकले त्यसलाई अन्तिम रूप दिने सोमबार रातिको सर्वदलीय बैठकमा सहमति जुटेको थियो।
तर मंगलबार दिउँसो २ बजेलाई बोलाइएको बैठकमा अध्यक्ष ओली आउन नसकेको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए।
‘अध्यक्षले हामीलाई बिरामी छु केही ढिला हुन्छ होला भनेर खबर गर्नु भएको थियो,’ नेम्वाङले भने, ‘मैले प्रधानमन्त्रीलाई त्यही जानकारी गराएको थिएँ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अध्यक्ष ओलीलाई बैठकस्थलबाटै २ पटक फोन गरेको र अन्तिममा बुधबार बैठक बसौं भन्ने प्रस्ताव गरेको नेम्वाङले सेतोपाटीलाई बताए।
‘सुरूमा त प्रधानमन्त्रीज्यूले पर्खने कुरा गर्नुभएको थियो। तर अध्यक्षसँग कुरा भएपछि उहाँले समय लाग्ने भयो। ४ बजे प्रधानन्यायाधीशको शपथ छ, भोलि बिहान ११ बजे बसौं भन्नुभयो,’ नेम्वाङले भने।
बैठक स्थगित भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शीर्ष नेताहरूको बैठकमा साक्षी बस्नु भनेको बदनाम हुनुमात्र रहेको टिप्पणी गरे।
‘हामीलाई के लाग्यो भने, शीर्ष नेताहरूको बैठकको साक्षी बस्नु भनेको बदनाम हुनुमात्र हो। साक्षी बस्नुको अर्थ देखिएन। हामी छलफल गर्छौं, यो विषय उहाँहरूलाई नै टुंग्याउन दिनुपर्छ,’ लामिछानेले भने।
सामान्य विषयलाई पनि तन्काइरहने परम्परामा दलहरू रहेको उनको भनाइ छ। ‘उहाँहरूले नै टुंग्याउनु होला भनेर आफ्नो ढंगले हामी अघि बढ्नुपर्छ भन्ने लागेको छ,’ उनले भने।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारमा मंगलबार बोलाएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि बस्दै नबसी बुधबारका लागि स्थगित गरिएको थियो।
सोमबार सत्ता र प्रतिपक्षी दलहरूले सुन प्रकरण छानबिन गर्न जाँचबुझ आयोग बनाउने सहमति गरेका थिए। यसको कार्यादेश र संरचनासहितको मस्यौदा पनि तयार भइसकेको छ। मंगलबार जाँचबुझ आयोग बनाएर सदन चलाउने भने पनि दलहरूबीच सहमति हुन सकेन।
प्रतिनिधि सभा बैठक पनि बुधबार अपराह्न ३ बजेसम्मका लागि स्थगित भएको छ।