नेपाली कांग्रेसका नेता शेखर कोइरालाले शीर्ष नेताहरू बालुवाटारमा बसेर संविधान विरोधी निर्णय गर्ने गर्दा मुलुक भयावह दुर्घटनाको अवस्थामा पुगेको बताएका छन्।
मोरङको सुन्दरहरैंचामा बुधबार आयोजित कार्यक्रममा बोल्दै कोइरालाले भने, ‘संविधानले एउटा अधिकार दिएको छ। तर नेताहरू एकठाउँमा बस्नुहुन्छ र आफू अनुकूल निर्णय गर्नुहुन्छ, यसरी देशलाई कहाँ पुर्याउन खोजेको हो?’
कोशी सरकारबारेको प्रसंगमा अदालतले जे नगर्नू भनेको छ नेताहरूले फेरि त्यही गरेको कोइरालाको भनाइ छ।
‘अदालतले जे नगर्नु भन्यो शीर्ष नेताहरू बसेर फेरि त्यही गर्नुभयो। संविधान र अदालतमाथिको यस्तो बलमिच्याईं कहिलेसम्म हो?,’ उनले प्रश्न गरे।
कोशीमा मुख्यमन्त्री उद्धव थापालाई प्रदेश सभा बैठक सञ्चालन गरेका सांसदले पनि विश्वासको मत दिएपछि विरोध भइरहेको छ।