उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले देशमा केही समययता विभिन्न नाम र बहानामा मिलेर बसेको नेपाली समाजको सामाजिक सद्भाव खलबल्याउने गलत प्रवृत्ति देखा परेको भन्दै यस्तो प्रवृत्तिबाट सबै नेपाली सचेत रहनु पर्ने बताएका छन्।
चाँगुनारायण नगरपालिका वडा नं. ५ को नवनिर्मित वडा कार्यालय भवन र स्वास्थ्य चौकी भवनको आज उद्घाटन गर्दै उनले देशमा कुनै पनि बहानामा साम्प्रदायिक द्वन्द्व भड्काउन खोज्ने तत्व प्रति आमनागरिक, तिनै तहका सरकार र सबै राजनीतिक शक्तिहरू समेत सचेत हुनुपर्ने बेला आएको बताए।
सदियौंदेखि देशमा विभिन्न भूगोल, ठाउँ र समाजमा मिश्रित रूपमा धेरै जातजाति, भाषाभाषी, वर्ग, धर्म, सांस्कृतिक परम्परा सबै एकतामा बाँधिदै आएको बताउँदै उनले यस्तो एकता खलबल्याउने, समाज भाँड्ने काम कहीँकतैबाट हुनु नहुनेमा जोड दिए।
‘देशमा सबै जातजाति, भाषाभाषी, कला, संस्कृति, धर्म, भूगोल, सबै नेपालीबीच सदियौंदेखि एकताबद्ध भएर आएको देश हो यो, यहाँ कुनै जातजाति, भाषा, धर्म, संस्कृति, वर्गको नाममा द्वन्द्व छैन’, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री खड्काले भने, ‘यो वा त्यो बहानामा कसैले जातीय, साम्प्रदायिक द्वन्द्वको सिर्जनालाई प्रश्रय दिने काम भइरहेको छ, त्यसतर्फ सबै सचेत भएर एकताको बलमा देशको सार्वभौमिकता, अखण्डतालाई कायमै राख्दै जनताको विकासको आकांक्षालाई पूरा गर्न एक भएर लाग्नुपर्छ।’