उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्ने संकल्पसहित सरकार अघि बढेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले कांग्रेस सरकारमा गएपछि भ्रष्टाचार नियन्त्रण गर्ने सरकारको अभियान थप बलियो बनेको बताए।
‘कांग्रेस सरकारमा गएको चार महिना भएको छ। सुशासन, भ्रष्टाचार नियन्त्रणको सन्दर्भमा अभियानको रुपमा एउटा संकल्पसहित हामी सरकारमा गएपछि पूर्ण संकल्पसहित सरकार अघि बढेको छ,’ उनले भने।
सुशासन कायम गर्नका लागि विद्यमान कमिकमजोरीलाई सुधार्न मुख्यसचिव नेतृत्वको टोली कार्ययोजनासहित लागेको र सुशासनको कार्ययोजना तयार पारेर जनताले पाउने सेवा समयमा पाउनका लागि सरकारले पहल गरिरहेको उपप्रधानमन्त्री खड्काले जानकारी दिए।
‘यो महिनाभित्र कार्ययोजना तयार पारी मन्त्रिपरिषदबाट पास गरेर सरकार र देशसँग जोडिएका सम्पूर्ण संयन्त्रहरुलाई सुशासनको कार्ययोजनाको घेराभित्र अनुशासित बनाउँदै आम नेपाली जनताले नयाँ खालको प्रभाव, सरकारबाट दिनुपर्ने सेवामा नयाँपनको अनुभव गर्नेगरी वर्तमान सरकारले गरिरहेको छ,’ उनले भने।
उनले भ्रष्टाचार र अनियमितताको निष्पक्ष छानबिन हुनुपर्छ भन्ने पक्षमा रहेको पनि बताए। छानबिनका प्रक्रियाहरू चलिरहेको र अहिले अधुरो रहेको बताउँदै उपप्रधानमन्त्री खड्काले यसको निरूपण नभएसम्म प्रश्न उठ्नु स्वाभाविक रहेको पनि बताए।
‘हाम्रा नेताहरुले केही कुरा उठाउनुभएको छ, त्यसलाई अस्वभाविक मान्दिन, त्यसको अन्तिम टुंगो अदालतले नलगाएसम्म यी कुराहरु हुन्छन्,’ उनले भने। न्युज एजेन्सी नेपालबाट