राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति को सभापतिमा उम्मेदवारी दिने भएको छ।
उद्योग तथा वाणिज्य समितिमा गणेश पराजुलीलाई उम्मेदवार बनाउने तयारी गरेको एक नेताले जानकारी दिए। रास्वपाले तीन बजे उम्मेदवारी दर्ताको तयारी गरेको छ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति मा रास्वपाका तीन जना सांसद छन्। असीम साह, पार्टीका उपसभापति डोलप्रसाद अर्याल र गणेश पराजुली त्यस समितिमा भएकाले उम्मेदवारी दिने तयारी गरेको हो।
शुक्रबार बसेको रास्वपा संसदीय दलको बैठकले प्रस्ताव र समर्थक जुटाउन सक्ने समितिमा उम्मेदवारी दिने निर्णय गरेको थियो।
‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन प्रक्रिया आजबाट अघि बढेको छ। यसपटक प्रतिनिधिसभाको निर्वाचन भएको ९ महिनापछि संसदीय समितिले सभापति पाउन लागेका हुन्।
यसपटक संयुक्त समिति दुई र प्रतिनिधिसभा मातहतका १० विषयगत समितिमध्ये सत्तापक्ष नेपाली कांग्रेसले चार, नेकपा (माओवादी केन्द्र)ले दुई, नेकपा (एमाले) तीन, नेकपा (एकीकृत समाजवादी) एक, जनमत पार्टीले एक सिट पाउने गरी भागबन्डा भइसकेको छ।
सत्ता साझेदारहरू र प्रमुख प्रतिपक्षीले त्यही अनुसार उम्मेदवारी दर्ताको तयारी गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी समितिको भागबन्डामा परेका थिएनन्।