नेपाली कांग्रेस रूपान्तरण पक्षका नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्।
आइतबार बिहान बालुवाटार पुगेर कांग्रेस केन्द्रीय सदस्य मधु आचार्यसहित रूपान्तरण पक्षधरका नेताहरूले प्रधानमन्त्री दाहालसँग कुराकानी गरेका हुन्।
भेटवार्तामा सहभागी कांग्रेस नेता भूपेन्द्रजङ्ग शाहीले प्रधानमन्त्री दाहाललाई भेटेर देशमा सुशासन कायम गर्न आग्रह गरिएको सेतोपाटीलाई बताए।
‘प्रधानमन्त्रीज्यूलाई भेटेर देशमा सुशासन कायम गर्न र भ्रष्टाचार काण्डका दोषीमाथि कारबाही गर्न ध्यानाकर्षण गराएका हौं,’ शाहीले भने।
रूपान्तरण पक्षधरका नेताहरूले प्रधानमन्त्री दाहालसँग मुख्यगरी ३ कुरा राखेका छन्।
पहिलो, ललिता निवास जग्गा प्रकरणबारे हो। यो प्रकरणमा निष्पक्ष छानबिन गरी दोषीहरूलाई कानूनअनुसार कारबाही गर्न कांग्रेस रूपान्तरण पक्षधरले प्रधानमन्त्री दाहालसँग माग गरेका छन्।
‘ललितानिवास जग्गा प्रकरण निष्पक्ष छानबिन गरी दोषीमाथि कानूनअनुसार कारबाही गर्नुपर्यो भनेका छौं। कसैलाई उन्मुक्ति दिन हुन्न भन्ने हाम्रो भनाइ छ,’ शाहीले भने।
ललिता निवास जग्गा प्रकरणमा कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारलाई पनि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले बयान लिएको थियो।
प्रधानमन्त्री दाहालसँग रूपान्तरण पक्षधरले राखेको दोस्रो कुरा हो- नक्कली भुटानी शरणार्थी प्रकरणबारे।
‘यो प्रकरणमा पनि अनुसन्धान गहिरोसँग हुन जरूरी छ भनेर प्रधानमन्त्रीलाई भनिएको छ,’ उनले भने, ‘संलग्न देखिएका सबैमाथि कारबाही हुनुपर्दछ।’
नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाण थुनामा छन्।
प्रधानमन्त्री दाहालसँग रूपान्तरण पक्षधरले राखेको तेस्रो विषय हो- सुनकाण्ड।
गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद गरिएको सुन र यो काण्डमा संलग्न जो-कोहीलाई कारबाही दायरामा ल्याउन माग गरिएको शाही बताउँछन्।
‘सुनकाण्डमा पनि निष्पक्ष अनुसन्धान हुनुपर्छ। कुनै पार्टी नहेरी र आग्रह र पूर्वाग्रह नराखेर अनुसन्धान हुनुपर्छ,’ उनले भने, ‘सुन काण्डहरूमा नाम जोडिएका नेकपा माओवादी केन्द्रका नेताहरूलाई पनि छानबिन गर्नुपर्यो।’
सुन प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको नामसमेत आएको थियो।
‘पार्टी हेर्नुभएन, सुन काण्डमा जोडिएका सबैलाई छानबिनको दायरामा ल्याउनुपर्छ,’ प्रधानमन्त्री दाहाललाई भनेका कुरा उद्धृत गर्दै शाहीले भने।
‘समग्रमा हामीले देशमा सुशासन कायम गर्नुपर्यो, भ्रष्टाचार काण्डहरूका दोषी नेता हुन् कि मन्त्री हुन् कि जो-सुकै किन नहुन्, उनीहरूमाथि कडा कारबाही हुनुपर्छ भनेका हौं,’ उनले भने।
कांग्रेस रूपान्तरण अभियानका नेताहरूका कुरा सुनेपछि प्रधानमन्त्री दाहालले सुनलगायत प्रकरणमा नाम जोडिएकाहरूलाई छानबिनको दायरामा ल्याइने प्रतिबद्धता जनाएका छन्।
‘हाम्रो दलभित्रका मानिसको पनि नाम आएको छ। उहाँहरू पनि छानबिनको दायराभित्र आउनुहुन्छ। तथ्य र प्रमाण भेटियो भने कसैको अनुहार हेर्दैनौं,’ प्रधानमन्त्री दाहालले भने, ‘नाम आएकाहरूमाथि पनि अनुसन्धान हुन्छ।’
रूपान्तरण अभियानका नेताहरूले यसअघि विज्ञप्ति निकालेर भ्रष्टाचार प्रकरण छानबिन गरिरहेका प्रहरी अधिकारीलाई सरूवा गरिएकोमा पनि आपत्ति जनाएका थिए।
यो पनि: कांग्रेसका ८ नेताले भने- भ्रष्टाचार काण्ड अनुसन्धान गरेका प्रहरीको सरूवाले निष्पक्ष छानबिनमा गम्भीर प्रश्न उठ्यो
यसअघि रूपान्तरण अभियानका नेताहरूले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटेर भ्रष्टाचार काण्डमा मुछिएकाहरूमाथि अनुसन्धान गर्न र कानूनअनुसार कारबाही गर्न माग गरेका थिए।
कांग्रेस नेता खाण पक्राउ परेकै बेला उनीहरू गृहमन्त्रालय पुगेर गृहमन्त्री भेटेकोमा गत साउन २ देखि १० गतेसम्म चलेको केन्द्रीय समिति बैठकमा रूपान्तरण पक्षधरको आलोचनासमेत भएको थियो।
रूपान्तरण अभियानमा केन्द्रीय सदस्य मधु आचार्य, नेताहरू गुरूराज घिमिरे, देवराज चालिसे, रञ्जित कर्ण, भूपेन्द्रजङ्ग शाही, जगदीश्वरनरसिंह केसी, शान्ता बाँस्कोटा, खगेन्द्र मल्ल, जनार्दन आचार्य, भरतबहादुर खड्कालगायत छन्।
उनीहरूले कांग्रेस रूपान्तरणका लागि प्रदेश भेला गरेर सुझावसहित प्रतिवेदन पार्टी केन्द्रीय कार्यालयमा बुझाइसकेका छन्।
यो पनि:
रूपान्तरण अभियानले कांग्रेसमा हलचल
नेतृत्वले कांग्रेस रूपान्तरण अभियानलाई स्वीकार नगरे विशेष महाधिवेशनको प्रक्रियामा जान्छौं: मधु आचार्य