नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले कोशी प्रदेशमा फोहोरी खेल खेलेको आरोप लगाएका छन्।
आइतबार विराटनगरमा आयोजित कोशी प्रदेश कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीले कोशीमा गठबन्धनले फोहोरी खेल खेलेपनि केन्द्र यसका नेतृत्वहरू मौन रहेको बताएका हुन्।
उनले लोकतन्त्र र लोकतान्त्रिक अभ्यासविरूद्ध प्रदेशमा बलमिच्याइँ भइरहँदा केन्द्रीय नेतृत्व मौन बस्नु आश्चर्यजनक रहेको टिप्पणी गरेका हुन्।
‘गठबन्धनको नाममा पटकपटक लोकतन्त्र र लोकतान्त्रिक अभ्यासविरुद्ध काम भइरहेको छ, बलमिच्याइँ गरेर फोहोरी राजनीति गरिरहेका छन्।तर, केन्द्रको गठबन्धन चुपचाप देखिन्छ,’ उनले भने।
सर्वोच्चले नै अवैध ठहर गरिसक्दा पनि नछाड्नुले गठबन्धन जुनसुकै हालतमा प्रदेशको सत्ता कब्जा गर्न लागि परेको पुष्टि हुने ओलीको भनाइ छ।
‘अदालतले सरकार गठन अवैध भनिसकेको छ त्यही पनि उनीहरु अझै यसलाई स्वीकार्न तयार देखिँदैनन्’, ओलीले थपे ‘गठबन्धन प्रदेशमा सत्ता कब्जा गर्न लागेको छ।’