नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एकपछि अर्को भ्रष्टाचार काण्ड बाहिरिए पनि नेताहरूले आफू अनुकूलतामा सत्ता बार्गेनिङको टुल बनाइरहेको आशंका गरेका छन्।
ललिता निवास जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, सुन प्रकरण, टीकापुर जग्गा प्रकरणलगायत सामसुम पार्न नेताहरूले अनुकूलतामा 'सत्ता बार्गेनिङको टुल' बनाउने सम्भावना बढ्दै गएको थापाको भनाइ छ।
भ्रष्टाचार प्रकरणले विगतमा अख्तियार दुरूपयोग गरेर कसरी शासन सत्ता, शक्ति र पहुँच, नाता र सम्बन्धका आधारमा भ्रष्टाचारको 'नेक्सस' बनिरहेको रहेछ भन्ने छर्लङ्गै भएको पनि उनको भनाइ छ।
‘यस्ता घटना सामसुम पार्न उनीहरू मिल्छन् भने यस्ता घटना छानबिन गर्न, गराउन हामी किन नमिल्ने? विगतमा जस्तै एउटै पार्टीभित्र समान धारणा भएको एक ठाउँमा आउनुपर्छ। यस्तै धारणा भएको अन्य पार्टीका साथीहरूसँग समान धारणा बनाऊँ अनि पार्टी बाहिर नागरिक आन्दोलनसँग एकाकार होऔं,’ थापाले सोमबार ट्वीट गर्दै भनेका छन्।
उनले यस्ता प्रयास भएमा भ्रष्टाचार जालो तोड्ने र सुशासन कायम गर्न बलियो कानूनी, संरचनागत र संस्थागत सुधार गर्ने वातावरण बन्ने बताएका छन्।
‘संसदमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग र भ्रष्टाचारसम्बन्धी दुई वटा ऐन संशोधन विधेयक विचाराधीन छन्। हामीले छुट्टै दर्जनौं संशोधन हालेका छौं। यसमा राम्रोसँग काम गरौं। यस्ता आयोगमा हुने नियुक्तिदेखि क्षेत्राधिकारसम्म, क्षमतादेखि संरचनासम्म बलियो बनाऔं,’ थापाले भने, ‘नीतिगत भ्रष्टाचारलाई परिभाषित गर्ने छुट्टै कानून नै बनाऔं। के नीतिगत हो के होइन प्रष्ट गरौं।’
उनले संसदबाट स्वार्थको द्वन्द्वसम्बन्धी कानून छिटो पारित हुनुपर्ने बताए।
‘अनुसन्धान गर्ने निकायलाई सबल र निष्पक्ष रूपमा काम गर्नका लागि के-के कानूनी व्यवस्था बदल्नुपर्छ त्यसमा काम गरौं,’ उनले भने, ‘अभियोजन गर्ने सरकारी वकिल र न्यायलयलाई निष्पक्ष र क्षमतावान बनाउन अहिले भएको व्यवस्थामा के-के बदल्नैपर्छ यसमा पनि काम थालौं।’
उनले निर्दोष कोही नपरूँन् र दोषी कोही नछुटुन भनेर अनुसन्धान हुनुपर्ने बताए। ‘भ्रष्टाचारका सन्दर्भमा न नेता, न नाता केही नहेरियोस्। कुनै व्यक्ति नेता वा नाता भएकै कारण पूर्वाग्रहको विषय पनि नबनोस्,’ उनले भने।
उनले जुनसुकै पार्टीमा जहाँ भए पनि भ्रष्टाचारको जालो तोड्न लाग्नुपर्ने बताए।