नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टी स्टेट प्रकरणमा छानबिन गर्न चुनौती दिएका छन्।
ओलीले गिरीबन्धु टी स्टेट, यती, ओम्नी सहितका प्रकरणमा छानबिन गर्न सरकारलाई चुनौती दिएका हुन्।
अध्यक्ष ओलीले सरकार र सत्तारूढ दललाई भ्रष्टहरूको संज्ञा दिँदै आफूमाथि आरोप लगाइएका सबै विषयमा छानबिन गरे उनीहरू आफैं जेल जाने जिकिर समेत गरे।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले गिरीबन्धु टी स्टेटको जग्गा गैरकानूनी रूपमा बिक्री गरी कमिसन खानेहरूले आफूलाई बदनाम गराउने कोसिस गरिरहेको उल्लेख गर्दै त्यसमाथि पनि तत्काल छानबिन गर्न सरकारलाई दबाब दिएका हुन्।
‘अस्तिसम्म ललिता निवास ललिता निवास भन्दै थिए। अहिले भागो रे भाग भइराखेको छ। यताको ढोकाबाट, उताको ढोकाबाट भागो रे भाग कस्तो भागो रे भाग’, उनले भने, ‘अहिले चिया बगान निस्किएको छ। गर न त छानबिन। बिना कानुन ५३ सालमा १९ बिगा जमिन बेच्न दिएको थियो कमिसन खाएर, ६० सालमा ५१ बिगा जमिन बिना कानुन बेच्न दिएको थियो कमिसन खाएर। छानबिन गर जेल जाऊ।’
त्यस्तो गैरकानुनी काम गर्न नपाइने भन्दै आफूहरूले कानुन बनाएको उनको जिकिर छ।
‘हामीले कानुन बनाइदिएका हौं। अब उप्रान्त गैरकानुन ढंगले यसरी कमिसन खाएर बेच्न पाइँदैन भनेर। कानुन बनाउँदा कसैले कमिसन खान्छ?’, उनले भने।
नेकपा एमाले कमिसनका पछाडि कुद्ने पार्टी नभएको उनको भनाइ छ।
‘तपाईंहरूको नेतृत्वसँग आत्मसंयम छ। कसरी कमाउने होइन कसरी देश बनाउने भिजन छ’, उनले भने, ‘आत्मसंयम गुमाएर देश बनाउन छोडेर अरूजस्तै अलिकति कताबाट तान्न मिल्छ भनेर एमालेको नेतृत्व हिँड्दैन।’