उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग भारतको नेसनल डिफेन्स कलेज (एनडिसी), नयाँ दिल्लीका एयर भाइस मार्सल मनिषकुमार गुप्ता, एभिडिएसएम, एसडिएस (एयर) एनडिसी नेतृत्वमा शिक्षार्थी सम्मिलित १६ सदस्यीय भ्रमण दलका सदस्यहरूले भेट गरेका छन्।
आज रक्षा मन्त्रालय सिंहदरबारमा भएको शिष्टाचार भेटघाटमा उपप्रधानमन्त्री खड्काले संयुक्त राष्ट्र संघको वडापत्र, असंलग्नता, पञ्चशील, अन्तर्राष्ट्रिय कानुन र विश्व शान्तिका मूल्यमान्यता नेपालको परराष्ट्र नीति संचालनका आधारहरूको रूपमा रहेको बताउँदै सार्वभौम समानता, क्षेत्रीय अखण्डता, पारस्परिक हित र पारस्परिक लाभले नेपालको परराष्ट्र सम्बन्धलाई मार्गदर्शन गरेको उल्लेख गरे।
संयुक्त राष्ट्रसंघीय शान्ति अभियानमा सहभागी भएर नेपालले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा विशेष योगदान दिएको बताए।
उनले रक्षासँग सम्बन्धित अध्ययनको आवश्यकता सामान्य शैक्षिक संस्थाहरूले पूरा गर्न नसक्ने हुँदा विभिन्न देशहरूमा यससम्बन्धी संस्थाहरूको स्थापना र सञ्चालन भइरहेको सन्दर्भमा नेपालमा समेत रक्षासम्बन्धी अध्ययन संस्थाको आवश्यकता महसुस गरिएको बताए।
प्रतिनिधिमण्डलको नेतृत्व गर्ने भारतीय एयर-भाइस मार्सलले कार्यक्रमको आयोजना तथा सहजीकरण गरेकोमा धन्यवाद दिए।
नेपाल र भारतबीचको कूटनीतिक सम्बन्ध तथा नेपाली सेना र भारतीय सेनाबीचको समन्वय सुमधुर रहेको उनको भनाइ छ।
सो अवसरमा रक्षा मन्त्रालयका सहसचिव, परराष्ट्र मन्त्रालय तथा नेपालस्थित भारतीय दूतावासका अधिकारी एवम् नेपाली सेनाका अधिकृतहरूको समेत उपस्थिति थियो।