नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशाल शक्ति निर्माणका लागि समाजवादी मोर्चालाई सडकमा लिएर जानुपर्ने बेला आएको बताएका छन्।
बुटवलमा मंगलबार आयोजित मोर्चाको लुम्बिनी प्रदेश घोषणा सभालाई सम्बोधन गर्दै प्रचण्डले मोर्चालाई सडकमा उतार्नका लागि तयारी थाल्न आग्रह गरेका हुन्।
प्रधानमन्त्री प्रचण्डले मोर्चालाई फुटाउन विभिन्न चलखेल भइरहेको उल्लेख गर्दै मोर्चालाई कमजोर नठान्न चेतावनी दिए।
‘मोर्चालाई हर हालतमा बदनाम गर्ने, फुटाउने, कमजोर बनाउने षड्यन्त्र भइरहेको छ, हामी एकतावद्ध भएनौं भने स्थिति गम्भीर बन्न सक्छ,’ उनले भने।
प्रचण्डले विगतका परिवर्तनलाई उल्टाउने षडयन्त्र भइरहेको उल्लेख गर्दै मोर्चा घोषणाले मात्रै नभई पूर्वमाओवादीहरूलाई एक ठाउँमा उभिन पनि आह्वान गरे।
समाजवादी मोर्चामा माओवादी आन्दोलनका सबै शक्तिहरू एक ठाउँमा आउने विश्वास व्यक्त गर्दै उनले ती शक्तिहरू एक ठाउँमा नआई सुखै नहुने बताए।
‘हामीमाथि मुद्दा हाल्ने कोशिश भयो, सरकारमा गएको बेला मलाई नै २ वटा मुद्दा लगाउने काम भयो। हामी एकतावद्ध हुन जरूरी छ,’ प्रचण्डले भने।
अहिले चार वटा दलमात्र आवद्ध भएको मोर्चा अहिले सानो देखिए पनि अग्रगमनका लागि लड्ने शक्तिहरू जुट्दा विशाल शक्ति बन्ने बताए।
‘अहिले मोर्चालाई सानो देखेर यसलाई कमजोर ठान्ने भूल कसैले नगरे हुन्छ,’ उनको भनाइ थियो।
घोषणा सभालाई सम्बोधन गर्दै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमसिसीमा केही अनुचित कुराहरू बाँकी रहे जनतालाई जानकारी गराउन प्रचण्डलाई आग्रह गरे। एमसिसीका नाममा अमेरिकाको अनुचित सर्त स्वीकार गर्न नहुने भन्दै त्यस्तो केही कुराहरू बाँकी रहे जनताको बीचमा जानकारी गराउन आग्रह गरे।
‘कसैको आर्थिक सहयोग लिँदा राखिएका अनुचित सर्त स्वीकार्य हुँदैनन्। एमसिसीलाई आइपिएससँग जोड्ने कुरा हामी स्वीकार्दैनौं,’ नेता नेपालले भने, ‘त्यो भनेको चीनलाई घेराउ गर्ने, अरू देशलाई शत्रु घोषणा गर्ने योजना हो।’
नेता नेपालले नेपालका लागि कुनै पनि देश शत्रु नभएको भन्दै नेपालको संसद्ले व्याख्यात्मक टिप्पणीमार्फत् एमसिसी पास गरेकाले त्यसमा नेपाल कुनै पनि सैनिक गठबन्धनमा जान नसक्ने उल्लेख गरिएको बताए।
कार्यक्रममा नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले एससिसीका नाममा नेपाल लुट्न नपाइने बताए। एमसिसी पास गर्ने मुख्य दलहरू सम्मिलित एउटै मोर्चाको कार्यक्रममा सहभागी विप्लवले प्रचण्डकै अगाडि उक्त कुरा बताएका हुन्।
एमसिसी परियोजनाविरूद्ध आफ्नो पार्टी कडाइका साथ लाग्ने भन्दै उनले नेपालको कानुन, सार्वभौमिकता मिचेर अगाडि बढ्न नदिने बताए।
‘नेपाललाई सहयोग गर्नेहरूले नि:स्वार्थ बिनाशर्त सहयोग गर्न सक्छन्, हामीले उनीहरूको विरोध गरेको होइन तर शर्तसहितको सहयोग हामीलाई चाहिँदैन,’ विप्लवले भने। उनले अहिलेकै अवस्थामा एमसिसी अगाडि बढ्न नसक्ने स्पष्ट पार्दै त्यसतर्फ प्रधानमन्त्रीको ध्यान जानुपर्ने बताए।
विप्लवले समाजवादी मोर्चाको भने बचाउ गरे। विश्वमा नै समाजवादविरूद्ध हमला भइरहेकाले त्यसविरूद्ध मिलेर लड्नको लागि मोर्चा बनेको बताए।
समाजवादी मोर्चा लुम्बिनीको घोषणा
चार वटा राजनीतिक दल सम्मिलित समाजवादी मोर्चाको लुम्बिनी प्रदेश समिति घोषणा गरिएको छ। मंगलबार बुटवलमा आयोजित सन्देश सभामा मोर्चाको प्रदेश समितिमा रहेका सदस्यहरूको नाम घोषणा गरिएको हो।
मोर्चामा आवद्ध माओवादी केन्द्र, एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टीका तीन-तीन जना सदस्य रहने गरी प्रदेश समन्वय कमिटी गठन गरिएको हो।
मोर्चामा माओवादी केन्द्रका तर्फबाट लुम्बिनी अध्यक्ष सुदर्शन बराल, उपाध्यक्ष दुर्गाबहादुर थारू र सचिव कृष्ण अधिकारी सदस्यका रूपमा चयन भएका छन्। एकीकृत समाजवादीका तर्फबाट पोलिटब्युरो सदस्य सोमप्रसाद पाण्डे, मेटमणि चौधरी र निर्मल सुवेदी रहेका छन्।
त्यस्तै जनता समाजवादी पार्टीबाट नवीनकुमार सुनुवार, मनिकर कार्की र अशोक यादव तथा नेकपाबाट वसन्त, नारायण र सम्झना मोर्चाको सदस्य रहेका छन्।