नेकपा (एमाले) को २५ औं सचिवालय बैठक जारी छ।
एमालेले चौथो राष्ट्रिय महाधिवेशन आयोजना गरेको स्थल सिराहाको विष्णुपुरकट्टीमा सचिवालय बैठक बसिरहेको हो।
विष्णुपुरकट्टीको सर्रे अम्बासमा बिहान ११ः३० बजेदेखि बैठक सुरू हुने बताइएको थियो। नेताहरू पुग्न ढिला भएपछि दिउँसो ३ बजेदेखि मात्रै बैठक सुरू भएको हो।
बैठकपछि एमालेले हिरक स्तम्भको शिलान्यास गर्ने कार्यक्रम राखेको छ। स्तम्भमा सुखानी, छिन्ताङका सहिदहरूको नाम लेख्ने एमालेले जानकारी दिएको छ। एमालेले तत्कालीन मालेको चौथो महाधिवेशन सम्पन्न गर्न सहयोग पुर्याउने त्यहाँका स्थानीयहरूलाई सम्मान गर्ने तयारी गरेको छ।
एमालेले तत्कालीन मालेको चौथो महाधिवेशन सुरू भएकै दिन अर्थात् भदौ ९ गते नै बैठकको तयारी गरेको थियो। चुरे नजिकैको त्यस क्षेत्र डुबानको चपेटमा परेकाले बैठक स्थगित गरेको थियो।

२०४६ साल भदौ ९ गतेदेखि १४ गतेसम्म त्यसबेलाको नेकपा (माले)ले विष्णुपुरकट्टीमा काठेघर बनाएर चौथो महाधिवेशन आयोजना गरेको थियो। त्यो महाधिवेशनले माओत्सेतुङ विचारधारा त्याग्दै पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवादी, लेनिनवादी तय गरेको थियो।
शान्तिपूर्ण, बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक कार्यदिशा पनि तय गरेको थियो। नेपाली कांग्रेससँग सहकार्य गर्दै पञ्चायतविरूद्ध संघर्ष गर्ने कार्यनीति पास गर्दै ४ वैकल्पिकसहित २० जनाको केन्द्रीय कमिटी चुनेको थियो।
२०४६ साल भदौ १४ गते नै बसेको केन्द्रीय कमिटीको पहिलो बैठकले महासचिवमा मदन भण्डारी निर्वाचित गरेको थिए। ५ सदस्यीय पोलिटब्युरो पनि गठन गरेको थियो।
पोलिटब्युरोमा माधवकुमार नेपाल, जीवराज आश्रित, झलनाथ खनाल, अमृत बोहरा र चन्द्रप्रकाश मैनाली (सिपी) चुनिएका थिए।

तत्कालीन मालेले स्थानीय हिराबहादुर सुनुवारको जग्गामा काठेघर बनाएर महाधिवेशन आयोजना गरेको थियो। दुई महिना लगाएर तयार पारेको त्यो घरको संरक्षण गर्न मदन भण्डारी स्मृति पार्क बनाउने तयारी पनि एमालेले गरेको छ। त्यहाँ रहेको १४ कट्ठा जमिन पार्टीको नाममा खरिद गरेर संरक्षणको तयारी भइरहेको सचिव योगेश भट्टराईले जानकारी दिए।
विष्णुपुरकट्टीमै रहेको विद्यालयलाई मदन भण्डारीको नामबाट नामकरण गरी १८ कट्ठा जमिन पनि त्यही विद्यालयको नाममा बनाउने तयारी एमालेको छ।