नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले यो संसदीय व्यवस्था रहेसम्म मुलुकको विकास नहुने बताएका छन्।
समाजवादी मोर्चाले बिहीबार कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गरेको सभामा बोल्दै उनले संसदीय व्यवस्था त्याग्दै वैज्ञानिक समाजवादको दिशा तय गर्नुपर्ने बताएका हुन्।
नेपाललाई यहाँसम्म पुर्याउने माओवादी हो। नेपाली जनताको त्याग र नेताहरूको योग्दानले मुलुक परिवर्तन भएको छ,’ उनले भने, ‘मोर्चाभित्रका दलका आफ्नै उद्देश्य छन्, तर विश्व राजनीतिक ध्रुवीकरणले नेपालमा प्रभाव पार्दैछ। यसले देशमा जटिल परिस्थिति निम्त्याएको छ।’
प्रतिगामी र पश्चगामी तत्त्वहरूले नेपाली जनतामा भ्रम फिँजाइरहेको उनले बताए।
यही परिस्थितिलाई ध्यानमा राख्दै सुसंगठित मोर्चा आवश्यक ठानेर समाजवादी मोर्चा बनाएको विप्लवको भनाइ छ।
‘क्रान्तिबाट हासिल भएको परिवर्तनको रक्षा गर्नु, देशलाई २१ औं शताब्दीमा उपनिवेशमा पार्न खोज्ने तत्त्वविरुद्ध लड्न स्वाधीनताको रक्षा गर्नु मोर्चाको प्रमुख उद्देश्य हो,’ उनले भने।
सामन्तवादलाई पछारे पनि जनयुद्धको सपना पूरा नभएको उनले बताए।
‘हामी जनयुद्धको बेलाको सफल संरचनालाई देशको संरचनामा बदल्न चाहन्थ्यौं। तर अहिलेको संरचना जनयुद्धको बेलाजस्तो सफल देखिएन,’ उनले भने।
विप्लवले अहिलेको मोर्चा सरकारमा को बस्ने/नबस्ने भन्ने कुरा नभएको र सफल क्रान्तिको मामिला भएको पनि बताए।
‘आजको क्रान्तिको रक्षा र क्रान्तिको पूर्णताका लागि समाजवादी मोर्चा बनेको हो। आजको संसदीय व्यवस्था रहेसम्म नेपाल सफल हुन सक्दैन,’ उनले भने।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भ्रष्टाचारविरुद्ध लड्न साथ दिने पनि उनले बताए।