न्यायाधीश ईश्वर प्रसाद खतिवडाले हेर्न नमिल्ने भनेपछि कोशी प्रदेश सरकारविरूद्धको रिटमा अर्को दिन सुनुवाइ हुने भएको छ।
शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा यो रिटको पेशी तोकिएको थियो।
इजलासमा उपस्थित वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईका अनुसार न्यायाधीश खतिवडाले रिटको पहिलो सुनुवाइमै आफूले अन्तरिम आदेश दिएकाले हेर्न नमिल्ले बताएका थिए।
‘न्यायाधीश ईश्वर खतिवडाले मैले हेर्न मिलेन बरू अर्को सुनुवाइको मितिसम्म तोकौंला भन्नुभयो,’ उनले सेतोपाटीसँग भने।
भदौ ४ गते मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा ज्येष्ठ सदस्यको हैसियतले संसद चलाएका इस्राइल मन्सुरीले पनि विश्वासको मत दिएपछि एमाले सर्वोच्च गएको थियो।
एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले उत्प्रेषणयुक्त परमादेश अथवा उपयुक्त आदेश माग गरेका छन्।
उक्त मुद्दामा सर्वोच्चले भदौ ७ गतेको सुनुवाइ गर्दै कोशी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न आदेश गरेको थियो।
सर्वोच्चको आदेशपछि कोशी सरकार बजेटविहीनको स्थितिमा छ।
सर्वोच्चले मुद्दालाई अग्राधिकार दिएर पूर्ण इजलासमा पठाउन सर्वोच्चले आदेश दिएको थियो। सोहीअनुसार मुद्दाको सुनुवाइ हुन लागेको हो।
यसअघि निवर्तमान सभामुख बाबुराम गौतमले थापालाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेपछि सर्वोच्चले मुख्यमन्त्री थापाको नियुक्ति नै बदर गरिदिएको थियो।