प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नेतृत्वको सरकारले इतिहासले नै सम्झिनेगरी साहसिक र जनपक्षीय कामहरु अघि बढाइरहेको बताएका छन्।
शनिबार पार्टी केन्द्रिय कार्यालयमा ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’को शुभारम्भ गर्दै उनले सरकारले सामाजिक न्यायको प्रत्याभुति, सुशासन, सार्वजनिक सेवा, प्रवाहमा जनताको सहज पहुँच र विकासलाई मुख्य प्राथमिकता दिँदै काम गरिरहेको बताए।
उनले एकपछि अर्को गर्दै सरकारबाट अघि सारिएका कामहरुले जनतामा आशा र भरोसाको वातावरण सिर्जना गरिरहेको पनि दाबी गरे।
‘सरकारले अघि सारेको कामहरुले जनतामा राजनीति र व्यवस्थाप्रति नै विकास हुँदै गएको निराशा चिरेर आशा र भरोसाको वातावरण सिर्जना गरिरहेको छ,’ उनले भने।
प्रधानमन्त्री दाहालले राजनीतिक र सामाजिक अराजकताको स्थानमा सकारात्मक भाष्यको निर्माण हुँदै सरकार र प्रणालीप्रतिको विश्वास क्रमशः बढ्दै गएको बताए।
तर आफैंले गरेको राम्रा काम पनि जनतासम्म पुर्याउन नसकेको उनको गुनासो छ।
सरकारले राम्रो काम गरेको कुराको प्रचार नहुँदा राम्रो कामबाट आँत्तिएकाहरुले भ्रम फैलाए,’ उनले भने।
अब यो अभियानबाट सरकारले गरेका राम्रा कामहरूबारे जनतालाई अवगत गराउने र त्यसका लागि देशभरका वडामा पुगेर जनतासँग भेट्न प्रचण्डले निर्देशन दिए।
आफ्नो कमिकमजोरीप्रति आत्माआलोचना गर्न हिचकिचाउन नहुने पनि उनले बताए। अभियानले सरकार र जनताबीच सम्बन्ध बिस्तार गर्ने पनि प्रधानमन्त्री प्रचण्डले बताए।
-न्युज एजेन्सी नेपालबाट