नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको लुम्बिनी प्रदेशको नेतृत्व आपसी सहमतिबाट टुंगाउन निर्देशन दिएका छन्।
एमाले प्रदेश अधिवेशन उद्घाटन समारोहलाई शनिबार बुटवलमा सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रदेशमा सकेसम्म उच्चस्तरीय सहमति र नभए लोकतान्त्रिक विधिबाट नेतृत्व चुनिने बताएका हुन्।
‘हामी विरोधीसँग लड्नुपर्ने छ, पार्टीभित्र एकता गर्न नेताहरू प्रतिवद्ध हुनुहुन्छ, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलका भनाइ सुनेको छु,’ उनले भने, ‘१९ जना पदाधिकारीमा लुम्बिनीबाट ७ जना हुनुहुन्छ यस्तो ठाउँमा किन विवाद नआई सहमतिमा नेतृत्व चयन हुन्छ,’ अध्यक्ष ओलीले भने।
कोही कसैले नेताका नाममा कुरा नगर्न र आफ्नो धारणा र चाहना व्यक्त गर्न आग्रह गरे।
कसैको आशीर्वाद भएर नेतृत्वमा पुग्न नसकिने भन्दै अध्यक्ष ओलीले आफ्नो क्षमताको बलमा नेतृत्व स्थापित गर्न आग्रह गरे।
यतिधेरै पदाधिकारी भएको प्रदेशमा नेतृत्वको लागि छिनाझम्टी नगरी प्रदेशका नेता बसेर नेतृत्व टुंग्याउन निर्देशन दिए।
‘शंकर जी हिडिसक्नुभयो, युवराज जी आउनुभएको छैन, यहाँ रहनुभएका विष्णु जी, प्रदीप जी लगायतका नेताले बसेर टुंगो लगाउनुस् भोलि बिहान म आफैंले नाम वाचन गरेर जानेछु’, ओलीले भने।
अध्यक्ष ओलीले लुम्बिनीबाट सिंगो देशवासी र पार्टी कमिटीलाई नयाँ सन्देश दिनुपर्ने बताए।
अध्यक्ष ओलीले लुम्बिनीजस्तो ऐतिहासिक स्थानबाट राजनीतिक जागरणका हिसाबले ऐतिहासिक क्षेत्रबाट एमालेको बलियो किल्ला, सिंगो कम्युनिष्ट पार्टीको उद्गमस्थलबाट एमालेले एकताको सन्देश दिनुपर्ने बताए।
नेकपा एमालेले पार्टीको लोकतान्त्रिक प्रक्रिया सबभन्दा पहिले सुरू गरेको बताउँदै ओलीले भने, ‘यो अधिवेशन प्रादेशिक संरचना गएर कर्मकाण्डी पूरा गर्न अधिवेशन गरिएको होइन, एमालेले कर्मकाण्डका लागि होइन, आवधिक रूपमा उद्देश्यसहित अधिवेशन गर्न थालेको छ।’
एमाले अरू पार्टीजस्तो जसरी पनि सरकार टिकाउन बनेको पार्टी नभएको उल्लेख गर्दै एमालेले सुशासन र समृद्धिको लागि देश र जनताका लागि काम गर्ने सरकार चलाउन चाहने पार्टी भएको बताए।
नेकपा एस र माओवादीलाई संकेत गर्दै ओलीले भने, ‘वामपन्थी खोल ओढेकाहरू दक्षिणपन्थीसँग गठजोड गरेर जनताको सरकार ढालेका हुन्, तिनै शक्तिहरू राष्ट्रवादी भन्दै हिँड्दै छन्। माओवादीसँगको एकता कम्युनिष्ट शक्ति बलियो बनाउन गरिएको भए पनि कुण्ठित मनसाय राखेकाहरूबाट पार्टी कब्जा गर्ने गलत मनसाय भएर समस्या आएको हो’, उनले भने।
अध्यक्ष ओलीले एमाले सरकारबाट हटेपछि विकासका सबै काम रोकिएको दाबी गरे।
‘रोप्ने बबुलको रूख खोज्ने स्याउ, बनाउने सरकार अनि खोज्ने विकास, हामीले सुरू गरेका विकासका योजना सबै अलपत्र छन्,’ उनले भने।
सरकार र प्रधानमन्त्रीको आलोचना गर्दै एमाले अध्यक्ष ओलीले भने, ‘बंगलादेश जाने बाटो पहिले नेपालले पाएका हौं, अर्नगल प्रचार हो, कुन बाटोका लागि जमिन दिने ? पैतृक सम्पति हो र जमिन दिने, प्रचण्डलाई अरुलाई दिने अधिकार छैन, यस्ता त प्रधानमन्त्री छन्।’
एमालेमा पहिरो जाँदैछ भन्ने माओवादी अध्यक्ष प्रचण्डको अभिव्यक्तिप्रति टिप्पणी गर्दै अध्यक्ष ओलीले कसैले चाहँदैमा पहिरो जानलाई एमाले माटोको ढिस्को र खरानीको डल्लो नभएको बताए।
‘एमाले माटो र खरानीको डल्लो होइन कसैले चाहँदैमा पहिरो जानलाई’, उनले भने।