नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लुम्बिनी प्रदेशको नेतृत्व सहमतिमै चयन गर्न निर्देशन दिएका छन्।
बुटवलमा जारी प्रदेशको प्रथम अधिवेशनको बन्दसत्रमा सम्बोधन गर्दै अध्यक्ष ओलीले सहमतिमै नेतृत्व चयन गर्न निर्देशन दिएका हुन् ।
आइतबार बिहान बन्दसत्रलाई सम्बोधन गरेर ओली काठमाडौं फर्किएका छन्।
काठमाडौ फर्किनु अघि बन्दसत्रमा सम्बोधन गर्दै ओलीले भने-´पद नहुँदैमा केही बिग्रँदैन, पार्टीलाई बलियो बनाउन म नभए पनि हुन्छ भन्ने बुझेर त्याग गरेर अघि बढ्नुस्।’
उनले नेतृत्वले पार्टी हित विपरीत नसोच्ने पनि बताए।
‘तपाईहरु एकतावद्ध भएर जानैपर्छ । तपाईहरु पार्टीलाई के असर पर्छ भनेर सोचेर जानू पर्छ,' उनले भने।
उनले सर्वसम्मत नेतृत्व चयन गर्न पार्टीका सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्याललाई जिम्मेवारी समेत दिएका छन्।
‘निर्देशन दिनपरे दृढतापूर्वक दिनुस्, मनाउनुस, प्रतिनिधिहरुले इन्चार्जको निर्देशन मान्नु पर्छ,’ उनले भने। यद्यपि चुनावमा जाने अन्तिम अधिकार भने कायम रहेको उनले बताए।
अध्यक्ष ओलीले पार्टी भित्र आत्मकेन्द्रीत प्रवृत्ति बढेको बताउँदै राष्ट्र केन्द्रित र जनता केन्द्रित हुन नेता कार्यकर्तालाई आग्रह गरे ।
'पार्टीको निर्णयमा, पार्टीको हितमा, देशको हितमा अघि बढौं । आन्दोलन सफल बनायौं मात्रै अवसरहरु प्राप्त हुन्छन्। हामी सफल हुन्छौं,'ओलीले भने।
अध्यक्ष ओलीले सहमतिमा नेतृत्व चयन गर्न निर्देशन दिएपनी अध्यक्षका दुबै आकांक्षी निर्वाचनमा जान चाहेको एमाले स्रोतले जनाएको छ।
प्रदेशको नेतृत्वको लागि निवर्तमान अध्यक्ष राधाकृष्ण कंडेल र केन्द्रिय सदस्य हरि रिजालका बीचमा प्रतिस्पर्धा हुने देखिएको छ।
लुम्बिनी प्रदेशका १ सय ९ स्थानीय तहबाट छानिएर आएका १ हजार ४ प्रतिनिधि सहभागी अधिवेशनमा सहभागी छन्।
बन्दसत्र सकिएपछि केहिबेरमा निर्वाचन प्रक्रिया सुरु हुने निवर्तमान प्रदेश प्रचार विभाग प्रमुख डिआर घिमिरेले बताए ।
अधिवेशनले २ सय ५ सदस्यीय प्रदेश कमिटी चयन गर्ने छ।