कोशी प्रदेश सरकारविरूद्धको मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ।
आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजालसले मुद्दालाई अन्तिम सुनुवाइका लागि पूर्ण इजलासमा पठाउन आदेश गरेको सुनुवाइमा सहभागी बहसमा सहभागी वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले जानकारी दिए।
शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा यो रिटको पेशी तोकिएको थियो।
तर, न्यायाधीश खतिवडाले रिटको पहिलो सुनुवाइमै आफूले अन्तरिम आदेश दिएकाले हेर्न नमिल्ले बताएपछि मुद्दा हेर्न नमिल्नेमा राखिएको थियो।
भदौ ४ गते मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा ज्येष्ठ सदस्यको हैसियतले संसद चलाएका इस्राइल मन्सुरीले पनि विश्वासको मत दिएपछि एमाले सर्वोच्च गएको थियो।
एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले उत्प्रेषणयुक्त परमादेश अथवा उपयुक्त आदेश माग गरेका छन्।
उक्त मुद्दामा सर्वोच्चले भदौ ७ गतेको सुनुवाइ गर्दै कोशी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न आदेश गरेको थियो।
सर्वोच्चको आदेशपछि कोशी सरकार बजेटविहीनको स्थितिमा छ।
सर्वोच्चले मुद्दालाई अग्राधिकार दिएर पूर्ण इजलासमा पठाउन सर्वोच्चले आदेश दिएको थियो। सोहीअनुसार मुद्दाको सुनुवाइ हुन लागेको हो।
यसअघि निवर्तमान सभामुख बाबुराम गौतमले थापालाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेपछि सर्वोच्चले मुख्यमन्त्री थापाको नियुक्ति नै बदर गरिदिएको थियो।