इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका आंगिक क्याम्पसहरूमा बढाइएको शुल्क फिर्ता गर्न त्रिभुवन विश्वविद्यालय सहमत भएपछि अनेरास्ववियुले आन्दोलन फिर्ता लिएको छ।
आन्दोलनरत अनेरास्ववियु र त्रिभुवन विश्वविद्यालयबीच चारबुँदे सहमति भएको छ।
आइतबार साँझ भएको सहमति अनुसार इन्जिनियरिङ अध्ययन संस्थानले बृद्धि गरेको शुल्क फिर्ता लिने, इन्जिनियरिङ विषय अध्ययन गर्न सबै क्षेत्रको पहुँच विस्तार हुनेगरि कर्णाली र मधेश प्रदेशमा श्रोतसाधन सम्पन्न क्याम्पसहरू स्थापना गर्न प्रक्रिया अघि बढाइने छ।
यस्तै संस्थानको आर्थिक संकट कम गर्न सर्वपक्षीय समिति बनाउने सहमति पनि भएपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिइएको अनेरास्ववियुका प्रवक्ता प्रकाश पौडेलले जानकारी दिए।
ईन्जिनियरिङ अध्ययन संस्थान कार्यान्वयन समितिको २०८० श्रावण २५ को निर्णय अनुसार ईन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत आङ्गिक क्याम्पसहरुको शुल्क २ लाख ८० हजारबाट बढाएर ७ लाख ७५ हजार पुर्याइएको भन्दै अनेरास्ववियुले श्रृंखलाबद्ध आन्दोलन गर्दै आएको थियो।
