नेकपा एमालेको लुम्बिनी प्रदेश कमिटीको सचिवमा दाङका लक्ष्मण आचार्य निर्वाचित भएका छन्।
यसअघि सचिवमा उम्मेदवारी दिएका गुल्मीका सोमनाथ सापकोटाले उम्मेदवारी फिर्ता लिएपछि आचार्य निर्विरोध निर्वाचित भएका हुन्।
आचार्य यसअघि पनि प्रदेश कमिटी सचिव थिए। सचिवमा निर्विरोध निर्वाचित भएका आचार्यले आफूलाई हरि रिजाल पक्षको भनेर प्रचार गरिएकोप्रति आपत्ति जनाएका छन्।
आर्चायले आफू प्यानलगत नभई व्यक्तिगत हिसाबले उम्मेदवारी दिएको भन्दै हरि रिजालको समूहबाट निर्विरोध निर्वाचित भएको भन्दै प्रचार गरिएकोप्रति आपत्ति जनाएका हुन्।
आफू निर्विरोध निर्वाचित भएपछि आचार्यले आफूलाई केही सञ्चार माध्यमले नियोजित रूपमा अमुक पक्षको भनेर प्रचार गरेको तर आफू रिजाल पक्षको नभएको बताए।
‘केही मिडियाले मलाई हरि रिजालको भनेर लेखेछन् त्यो हुँदै होइन,’ आचार्यले भने।
एमाले लुम्बिनी प्रदेशका ५ पदाधिकारीमा १४ र २ सय सदस्यमा ३ सय ६४ जनाको उम्मेदवारी परेको छ।
अहिले आठ बजेदेखि मतदानको प्रक्रिया सुरू गरिने निर्वाचन समितिले जनाएको छ।
मतदान हुने भएपछि उम्मेदवारहरू प्रतिनिधिसामु मत माग्दै हिँडेका छन्। यसअघि अध्यक्षका उम्मेदवार हरि रिजालको सदस्यता केन्द्रमा रहेकोले प्रदेश अधिवेशनमा प्रतिनिधि बन्नु नै अवैध रहेकोले उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोग कार्यालयमा उजुरी परेको थियो।