वन तथा वातावरणमन्त्री वीरेन्द्र प्रसाद महतोले कार्यभार सम्हालेको एक सय (१००) दिन पुगेको अवसरमा कार्य प्रगति सार्वजनिक गरेका छन्।
मन्त्रालयमा आज (सोमबार) एक कार्यक्रमको आयोजना गरी मन्त्री महतोले कार्य प्रगति विवरण सार्वजनिक गरेका हुन्।
उनले सार्वजनिक गरेको कार्य प्रगतिमा मन्त्रिपरिषदबाट नेपाल वन सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियमहरू, २०८० (दोस्रो संशोधन) स्वीकृत गरी नेपाल राजपत्रमा भएको प्रकाशन भएको र उक्त संशोधनबाट वन सेवाअन्तर्गत संस्थागत हुनेगरी वातावरण समूह थप भएको र वन सेवाका पदनामाहरूमा समसामयिक सुधार गरिएकोलगायत महत्वपूर्ण कुरा उल्लेख गरिएको छ।
मन्त्री महतोले वन मन्त्रालय बहुआयामिक क्षेत्र भएको मन्त्रालय भएको उल्लेख गर्दै सबैसँग समन्वय र सहकार्य गरेर काम भैरहेको जनाए।
यो अवधिमा मानव र जंगली जनावरबीच भैरहेको द्वन्द्व न्यूनीकरणको लागि पनि उल्लेख्य रूपमा काम भएको उनको भनाइ छ।
उनले आफूले वनलाई मुलुकको आर्थिक समृद्धिसँग जोडेर लैजानेगरी काम गरेको स्पष्ट पारे।
अहिले वन क्षेत्रमा हुने तस्करी पनि रोकथाम भएको उनको भनाइ छ। उनले युएईमा हुने कोप सम्मेलनको लागि नेपाल सरकारले आक्रामक तयारी गरेको जनाए।