नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संसदीय प्रणालीमा प्रधानमन्त्री नै सर्वेसर्वा भएको बताएका छन्।
अहिलेको सरकारमा कांग्रेस पनि सहभागी रहेको उल्लेख गर्दै उनले मन्त्री हुनेभन्दा पनि प्रधानमन्त्री नै सर्वेसर्वा हुने बताए।
उनले कांग्रेसमाथि आक्रमण भइरहेको बताए।
‘हामी झन्डै ९० जना सांसद छौं। मन्त्रीहरू पनि छन्। तर सरकार हाम्रो हो कि होइन भन्ने महसुश भइरहेको छैन,’ नेपाल निजामती कर्मचारी युनियनले मंगलबार गरेको कार्यक्रममा कोइरालाले भने, ‘जतिसुकै भने पनि संसदीय प्रणालीमा प्रधानमन्त्री नै सर्वेसर्वा हो।’
कांग्रेसले लिएका मन्त्रालयमा पनि कर्मचारीका समस्या नसुनिएको गुनासो आएको उनले बताए।
‘सभापतिजी यहीँ हुनुहुन्छ, उहाँले त प्रधानमन्त्री (पुष्पकमल दाहाल प्रचण्ड) सँग कुराकानी गरिरहनुभएकै हुन्छ। कुरा भइराखेकै होला,’ उनले भने, ‘जतिसकै भने पनि प्रधानमन्त्री नै सर्वेसर्वा हो। त्यो पनि एउटा कारण होला- प्रधानमन्त्रीले भनेका कुरा मन्त्रीहरूले काट्न नमिल्ने। त्यसकारण नेतृत्व हामीहरूले लिन सक्ने हो कि होइन?’
सरकारको नेतृत्व कांग्रेसले लिन सक्ने हो भने पार्टीको वर्चश्व हुने र जनतालाई पनि आश्वस्त पार्न सकिने उनले बताए।
‘किनभने अहिले राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, धार्मिक र कुटनीतिक कुनै पनिमा देश ठिक ठाउँबाट अघि बढेको छैन,’ उनले भने, ‘म केही दिनअघि विराटनगर थिएँ। देख्दा धार्मिक युद्ध हो कि जस्तो देखिन्थ्यो त्यसमा जातीय गन्ध देखिएको थियो।’
उनले देशमा जातीय द्वन्द्व हुन नहुने बताए। ‘म धरान पनि गएँ। एउटा समूहसँग भेटेँ, सम्झाएँ। तर उहाँहरू टसमस हुने अवस्था देखिन्न,’ उनले भने।
फरक प्रसंगमा उनले देशका प्रधानमन्त्री र काठमाडौं महानगरपालिकाका मेयरले अराजक किसिमले बोल्न नहुने बताए।
‘काठमाडौंका मेयरले अराजक किसिमले बोल्न हुँदैन,’ उनले भने, ‘हामीलाई भोट देऊ, जातीय पहिचानसहित राज्य बनाइदिन्छु भनेर देशको प्रधानमन्त्रीले बोल्न मिल्दैन, यसरी देश चल्दैन।’