नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीमा दाइ–भाउजू प्रवृत्ति हाबी भएको भन्दै त्यसले पार्टीलाई उँभो लाग्न नदिएको टिप्पणी गरेका छन्।
मंगलबार नेपाली कांग्रेस चितवन क्षेत्र नं २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै पूर्व मन्त्रीसमेत रहेका नेता केसीले कार्यकर्ताले सत्यलाई बन्धकी राख्नाले पार्टी क्षयीकरणको बाटोमा गएको तर्फ संकेत गरे।
‘पार्टीका दाइभाउजूले भनिसके अब मान्नु पर्छ भनेर सत्यलाई बन्धकी राख्ने कार्यकर्ता वा नेता कायर वा दास हुन् यिनीहरूबाट पार्टी उँभो लाग्दैन,’ नेता केसीले भने।
कार्यक्रमलाई सम्बोधन गर्दै नेता केसीले पछिल्लो समय नेपालमा नेताहरूको प्रवृत्ति लोकतान्त्रिक नभएको र पार्टी भित्रको प्रवृत्तिले नै कांग्रेस कमजोर भएको स्पष्ट पारे।
विचार लिएर अन्य जुनसुकै पार्टी आउन सक्ने भए पनि अरू पार्टी कमजोर भएर नेपाली कांग्रेस बलियो हुन नसक्ने बताए।
‘लोकतन्त्र एउटा प्रक्रियाको नाम हो पद्धति हो, नेपाली कांग्रेस विचार नमिल्नेहरूसँग पनि सँगसँगै जानुपर्छ भन्ने मान्यता राख्छ। तर पछिल्लो समय नेपालमा नेताहरूको प्रवृत्ति लोकतान्त्रिक नभएको र पार्टी भित्रको प्रवृत्तिले नै कांग्रेस कमजोर भएको हो। विचार लिएर नयाँ पार्टी आउन सक्छ अरू कमजोर भएर कांग्रेस बलियो हुँदैन, अरूको घर भत्केर आफ्नो बलियो हुँदैन,’ उनले भने।
पछिल्लो समय धार्मिक द्धन्द्ध बढ्दै गएको बताउँदै त्यसलाई समयमै सरकारले समाधानको पहल गर्नुपर्नेमा जोड दिए ।
‘हामीले बुझ्नु पर्छ जनप्रियतावादबाटै हिटलर जन्मेका हुन् तसर्थ यथार्थ र आदर्शबाट मात्रै देश चल्छ । बहुजातीय, बहुसांस्कृतिक र धार्मिक सहिसुष्णता भएको देशमा धार्मिक द्वन्द्वको खतरा बढ्दै छ । त्यसलाई राज्यले समयमै समाधानको पहल लिनुपर्छ ।’ उनले भने ।
त्यसैगरी पछिल्ला चर्चित काण्डहरूसहित वाइडबडी यती ओम्नीसम्मका काण्डसम्म छानबिन गर्न सरकारले खुट्टा कमाउन नहुने बताए।
साथै, गाउँ-गाउँबाट भ्रष्टाचारको विषयमा विरोध कार्यक्रम अगाडि बढाउँदै कांग्रेस अगाडि बढ्नुपर्छ नत्र भ्रष्टाचारीको रक्षक कांग्रेस भएको आरोप लाग्ने बताए।
‘हामीले वाइडबडी, ३३ किलो सुन, यती ओम्नी, ६० किलो सुनदेखि विभिन्न काण्डहरूको पूरापूर छानबिन गर्न खुट्टा कमाउनु हुँदैन। गाउँ-गाउँबाट भ्रष्टाचारको विषयमा विरोध कार्यक्रम अगाडि बढाँउदै कांग्रेस अगाडि बढ्नुपर्छ नत्र भ्रष्टचारीको रक्षक कांग्रेस हो भन्ने छन्,’ उनले भने।