राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा सांसद धवल शमशेर राणाले महेन्द्र यादवमाथि रिपोर्टस क्लबअगाडि खुकुरी हान्ने आफ्नो पार्टीको कार्यकर्ता नरहेको बताएका छन्।
बिहीबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोेल्दै यादवमाथि खुकुरी प्रहार गर्ने नुवाकोटका श्यामबाबु सापकोटामाथि हुनुपर्नेजति कारबाही गर्न माग गरे।
हिजो रिपोर्टस क्लबमा भएको घटनामा म पनि थिए, त्यहाँ। हामीले बोलिसकेर महेन्द्र यादवजी बाहिर निस्किँदाखेरी एउटा व्यक्तिले खुकुरी प्रहार गर्यो, मेरै आँखा अगाडि, उहाँ घाइते हुनुभयो। त्यो व्यक्तिलाई प्रहरीले त्यहीँ च्याप्पै समात्यो,’ उनले भने, ‘ यो विषय प्रष्टै होस् ती व्यक्ति हाम्रो पार्टीसँग कुनै पनि प्रकारले संलग्न थिएनन् उसमाथि हुनुपर्ने कारबाही हुनुपर्छ।
महेन्द्र यादवमाथिको आक्रमणलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टीलाई अलिकति आक्षेप लगाउनेजस्तो कुरा आएको भन्दै प्रष्टीकरण दिएको उनको भनाइ छ।
‘उहाँ (आक्रमणकारी)ले राजसंस्था, हिन्दु राष्ट्रको विषयमा र एमसिसीको विरोधमा नारा लगाउनुभयो। महेन्द्रजीले बोल्दाखेरी पनि उहाँले विरोध जनाउनुभएको थियो। त्यो घटनाप्रति राप्रपा दुःख व्यक्त गर्न चाहन्छ। राष्ट्रिय प्रजातन्त्र पार्टी हिंसाको राजनीतिमा कहिल्यै पनि विश्वास न गरेको थियो, न आउने दिनमा गर्छ,’ उनले भने।