नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश कमिटीले पार्टीको मातहतका कार्यालयहरूमा प्रदेश अध्यक्षको फोटो अनिवार्य राख्न सर्कुलर नभएको बताएको छ।
बिहीबार कार्यालय सचिव ईश्वर सापकोटाले प्रेस विज्ञप्ति निकालेर प्रदेश कार्यालयमा सर्कुलर नभएको जनाएका हुन्।
‘बागमती प्रदेशबाट यस प्रकारको कार्यविधि कुनै पनि मितिमा जारी नभएको व्यहोरा अनुरोध छ,’ विज्ञप्तीमा लेखिएको छ, ‘पार्टीको आधिकारिक लेटरहेड, छाप र हस्ताक्षर नभएको कुनै पनि त्यस्ता विषय आधिकारिक नहुने भएकाले सोही अनुसार बुझिदिनुहुन समेत सबैमा हार्दिक अनुरोध गर्दछौं।’
माओवादी केन्द्र बागमती प्रदेश कमिटीले मातहतका कार्यालयमा पठाएको ‘नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बागमती प्रदेश समिति कार्यालय व्यवस्थापनबारे कार्यविधि २०८०’ मा यस्तो प्रावधान राखिएको थियो। त्यसको पार्टी कमिटीभित्रै विरोध सुरू भएको थियो।
सेतोपाटीसँगको कुराकानीमा अध्यक्ष सरल सहयात्री पौडेल र सचिव इन्द्रबहादुर थिङले झुक्किएर पठाइएको बताएका थिए।