नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले चिनियाँ नेताहरूलाई विश्व शान्ति स्थापनाको लागि दक्षिण एसियामा गरिबी निवारण कार्यक्रम र परियोजना सञ्चालन गर्न सुझाव दिएका छन्।
विश्व र दक्षिण एसियामा स्थायी शान्ति स्थापनामा चीनको भूमिका नेतृत्वदायी हुने उल्लेख गर्दै महासचिव पोखरेलले त्यसका लागि चीनले गरिबी निवारणका लागि काम गर्नु पर्नेमा जोड दिएका हुन्।
बेइजिङस्थित चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय विदेश विभागमा शुक्रबार आयोजित अन्तर्क्रिया कार्यक्रममा महासचिव पोखरेलले चीनको सहयोगमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र चिनियाँ निर्माण व्यवसायीहरूले बनाएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनमा विभिन्न सहरमा सिधा उडानका लागि आग्रह गरे।
उनले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले १० वटा औद्योगिक क्षेत्रहरू तोकेर देशलाई औद्योगीकरणमा लैजाने योजना बनाएको जानकारी दिँदै चिनियाँ उद्योगीहरूलाई नेपालमा लगानीका लागि आग्रह पनि गरे।
कार्यक्रममा चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागका दक्षिण एसिया ब्युरोका डाइरेक्टर जनरल पिङ सिउ पिनले नेकपा (एमाले) सँग चिनियाँ कम्युनिष्ट पार्टीको गहिरो र घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै इमानदारिताको साथ गहिरो सम्बन्ध जारी राख्ने बताए।
उनले महासचिव पोखरेलको उच्चस्तरीय भ्रमणलाई चिनियाँ कम्युनिष्ट पार्टीले उच्च महत्व दिएको बताए।
महासचिव पोखरेल नेतृत्वको भ्रमण दल बिहीबार साझ छोङछिङबाट बेइजिङ पुगेको हो। छोङछिङमा महासचिव पोखरेलले चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य युआन जियाजुनलगायत नेताहरूसँग भेट गरेका थिए।