ललिता निवास प्रकरणमा काठमाडौं जिल्ला अदालतले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङलाई धरौटीमा छाड्न आदेश दिएको छ।
आइतबार अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलाशले उक्त आदेश दिएको स्रेस्तेहार कोशलेश्वर ज्ञवालीले जानकारी दिए। उनीसँगै अन्य १७ जनालाई पनि छाडेको हो।
उनीसँग दुई करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको छ।
आइतबार नै यस प्रकरणमा थुनछेक बहस गर्न सकिएको थियो।
सरकारी वकिल कार्यालय काठमाडौंले ललिता निवासको १४३ रोपनी जग्गाको कागजात किर्ते गरी व्यक्तिको नाममा गएको भन्दै भदौ १० गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो। सरकारी कागजात किर्ते गरेको कसुरमा मुद्दा दायर भएको थियो।
यस प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले २८९ जनालाई प्रतिवादी बनाएको थियो। २१ जना प्रतिवादीको भने मृत्यु भइसकेको भन्दै नाम उल्लेख गरी मुद्दा दायर गरेको हो। सिआइबीले यस प्रकरणमा संगठित अपराध कसुरमा अनुसन्धान अघि बढाएको थियो। तर सरकारी वकिल कार्यालयले सरकारी कागजात किर्तेमा मात्रै मुद्दा दर्ता गरेको थियो।
यस प्रकरणमा अदालतमा प्रतिवादीका तर्फबाट ५० जना कानुन व्यवसायीले बहस गरेका थिए। सरकारी वकिलका तर्फबाट ८ जनाले बहस गरेका थिए।
जवाफी बहसको क्रममा दुई जना सरकारी वकिलले मात्रै बहस गरेका हुन्।