नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो राजनीतिक प्रेरणाको स्रोत बिपी कोइराला नै भएको बताएका छन्।
आइतबार केन्द्रीय कार्यालय सानेपामा बिपी साहित्य महोत्सव उद्घाटन गर्दै सभापति देउवाले बिपी बहुआयामिक व्यक्तित्व भएको बताए।
‘उहाँ राजनीतिक जगतमा सबैका अनुकरणीय विचारक र चिन्तक हुनुहुन्थ्यो भने साहित्यिक आकासमा सधैं अजर र अमर नक्षेत्रको रुपमा आज पनि स्थापित हुनुहुन्छ,’ उनले भने, ‘उहाँको राजनीतिक चिन्तनले देखाएको मार्ग मै हामी हिँडिरहेका छौं।’
विपीकै चिन्तनले मुलुक समृद्ध बनाउन सकिने र प्रयत्न भइरहेको पनि उनले बताए।
साहित्य महोत्सवले बिपीले प्रतिपादन गरेको राजनीतिक विचार, साहित्यिक कृति, भोगेका सङ्घर्षमय जीवन गाथा र सामाजिक, आर्थिक तथा धार्मिक सांस्कृतिक दृष्टिकोण लगायतका विविधि पक्षमा युवा पुस्तालाई गहिरो ज्ञान बाँड्ने देउवाको विश्वास छ।
अन्तर्राष्ट्रिय सम्बन्धका मामिलामा बिपी सबैको सहअस्तित्व र सम्मानलाई उच्च मान्यतामा राख्ने उनले बताए।