प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निरंकुश राजतन्त्रका दलालहरूले लोकतान्त्रिक आन्दोलनका नेतामाथि खुकुरी प्रहार गरेको बताएका छन्।
सत्तारूढ नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि गत भदौ २० गते भृकुटीमण्डपमा नुवाकोट घर भई बालाजु बस्दै आएका श्यामबहादुर सापकोटाले खुकुरी प्रहार गरेका थिए। उनले यादवमाथि खुकुरी प्रहार गरेपछि 'नेपाल हिन्दु राष्ट्र हुनुपर्ने, राजतन्त्र जीन्दावाद' जस्ता नारा लगाएका थिए।
उक्त घटनाको प्रसंग निकाल्दै प्रधानमन्त्री दाहालले आइतबार हेटौंडामा समाजवादी केन्द्रले गरेको सन्देश सभामा भने, ‘हामी कमजोर देखिएपछि कसरी प्रतिक्रान्तिकारीहरूको मनोबल उठ्दो रहेछ? एक-दुई जना भए पनि गर्जन गरेर! अस्ती काठमाडौंमा तपाईंहरूले देख्नुभयो- खुकुरी हान्ने। निरंकुश राजतन्त्रका दलालहरू, भ्रष्टहरूले लोकतान्त्रिक आन्दोलनका नेतामाथि खुलेआम खुकुरी प्रहार गर्ने घटना सामान्य एउटा घटना मात्र होइन।’
यस्ता घटनाबाट सचेत हुनुपर्ने उनले बताए।
केही समयदेखि समाजवादी मोर्चाले हलभित्र कार्यक्रम गरेर सन्देश प्रवाहको काम गरिरहेको उनको भनाइ छ। अब केही समयपछि लाखौं जनता सडकमा उतार्ने पनि प्रधानमन्त्री दाहालले बताए।
‘केही समयपछि राष्ट्रियता, जनतन्त्र, जनजीविकाका विषयलाई लिएर लाखौं जनतालाई सडकमा ल्याउनुछ,’ उनले भने, ‘ती प्रतिक्रान्तिकारी र दक्षिणपन्थी निरंकुशतावादी तथा सामान्ती र दलालको सातो जाने गरी जनताको तागत बढाउनुछ।’
परिवर्तन ल्याएकाहरूलाई अहिले अपमानित गर्ने काम भइरहेको उनले बताए। ‘हामीलाई अपमानित गर्न खोज्ने, घेरा हाल्न खोज्ने, जनताको त्यत्रो त्याग र बलिदानबाट ल्याएको परिवर्तनलाई अपमानित गर्न खोज्ने प्रवृत्तिलाई परास्त गर्नुपर्छ,’ प्रधानमन्त्री दाहालले भने।
आफूहरू सुस्ताएको मौका छोपेर सामाजिक सञ्जालमा पनि हेर्नै नसकिने गरी भिडिओ तथा कुराहरू लेखिने गरिएको उनको भनाइ छ।