बागमती प्रदेश सभाको आज बसेको दोस्रो बैठकमा सामाजिक विकासमन्त्री कुमारी मोक्तानले विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका छन्।
यसैगरी, उक्त बैठकमा स्वास्थ्य मन्त्री उत्तम जोशीले प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गरे।
यस्तै, बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री गङ्गानारायण श्रेष्ठले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र कृषि तथा पशुपन्छी विकासमन्त्री डा. राजेन्द्रमान श्रेष्ठले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकमाथि विचार गरियोस् भनी प्रस्ताव टेबुल गरे।
उक्त बैठकमा कानूनमन्त्री श्रेष्ठले प्रस्तुत गरेको सञ्चार माध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकबाहेक तीन वटा विधेयकको सैद्धान्तिक पक्षमा छलफल भएको थियो।
उक्त छलफलका क्रममा प्रदेश सभा सदस्यहरूले सरकारलाई विधेयकमाथि थप विषयवस्तु समावेश गरी परिमार्जन गर्न सुझाव दिएका थिए।
उक्त बैठकमा सदस्यहरूले उठाएका सरोकारको विषयमा सामाजिक विकासमन्त्री मोक्तानले उच्च शिक्षालाई गुणात्मक दक्ष जनशक्ति उत्पादन गर्ने क्रममा स्थानीय विद्यालयहरूलाई विज्ञान र गणित विषयमा शिक्षकहरू दरबन्दी उपलब्ध गराउने र चिकित्सक क्षेत्रलाई विस्तार एवं परिमार्जन गरी स्वास्थ्य क्षेत्रलाई जनताको पहुँचमा पुर्याउन सरकारले उच्च प्राथमिकताका साथ योजना कार्यान्वयन गर्दै लैजाने बताए।
प्रदेश सभाको अर्को बैठक यही भदौ २९ गते अपराह्न साढे १२ बजे बस्नेछ।