समाजवादी मोर्चाले सोमबार विराटनगरमा सन्देश सभा गर्दै छ।
समाजवादी मोर्चाको अवधारणा र उद्देश्य प्रकाश पार्न आज उसले कोशी प्रदेशस्तरीय सभा गर्न लागेको हो।
दिउँसो १ बजे विराटनगरमा सभा हुने जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य राजकिशोर शाहले जानकारी दिए।
सभालाई माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्ने छन्।
सातै प्रदेशमा सन्देश सभा गरिरहेको मोर्चाको यो अन्तिम सभा हो। यसअघि आइतबार उसले बागमती प्रदेशको हेटौंडामा सन्देश सभा गरेको थियो।
चारवटा राजनीतिक दल सम्मिलित समाजवादी मोर्चा असार ४ गते गठन भएको हो। मोर्चाको संयोजक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल छन् भने सदस्य सचिव सोही पार्टीका उपाध्यक्ष प्रमेश हमाल रहेका छन्।
मोर्चाको नेतृत्व चार–चार महिनामा फेरबदल हुने छ भने आधारभूत तहसम्म संरचना विस्तार गर्ने उसको लक्ष्य छ।