नेपाली कांग्रेस रूपान्तरण अभियानले आचारसंहिता घोषणा गरेको छ।
रूपान्तरण अभियानले दोस्रो चरणमा १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा कार्यक्रम गर्नुअघि आचारसंहिता बनाएका हुन्।
यसअघि गत जेठमा रूपान्तरण अभियानले सातै प्रदेशमा भेला गरेका थिए।
रूपान्तरण अभियानमा लागेका कांग्रेस केन्द्रीय सदस्य मधु आचार्यले दिएको जानकारीअनुसार निर्वाचन क्षेत्र केन्द्रित अभियान काभ्रेको धुलिखेलबाट सुरू भएको छ।
मंसिरमा हुने कांग्रेस महासमिति बैठकलाई लक्षित गर्दै रूपान्तरण अभियानले निर्वाचन क्षेत्र केन्द्रित अभियान सुरू गरेको हो। नीतिगत र सांगठानिक विषयमा उनीहरूले नेता तथा कार्यकर्ताहरूसँग कुराकानी गर्नेछन्।
बिपीको जन्मजयन्तीका अवसर पारेर आइतबार ८ बुँदे आचारसंहितासमेत घोषणा गरिएको उनले बताए।
अभियानका क्रममा विभिन्न जिल्ला र निर्वाचन क्षेत्रमा जाँदा होटलमा बस्न नपाइने र पार्टीका नेता, कार्यकर्ताकै घरमा बस्नुपर्ने नियम बनाइएको हो।
‘तडकभडक र खर्चिलो यात्रा नगर्न भनेका छौं। माला र खादाको प्रयोगसमेत गरिने छैन,’ आचार्यले भने, ‘मदिरा सेवन पनि गर्न पाइँदैन।’
तोकिएको समयमै कार्यक्रम सुरू गर्ने, विषयकेन्द्रित भएर भाषण गर्नुपर्ने र छोटकरीमा कुरा राख्नुपर्ने आचारसंहिता बनाइएको उनले जानकारी दिए।
रूपान्तरण अभियानमा केन्द्रीय सदस्यहरू आचार्य, गोविन्दराज पोखरेल, पूर्वकेन्द्रीय सदस्य गुरूराज घिमिरे, नेता भरतबहादुर खड्का, जगदीश्वरनरसिंह केसी, भूपेन्द्रजङ्ग शाही, रञ्जित कर्ण, रिता शाहीलगायत छन्।
कांग्रेस नेतृत्व विधि र विधानअनुसार सञ्चालन नभएको भन्दै उनीहरूले रूपान्तरण गर्न दबाब दिँदै राष्ट्रव्यापी कार्यक्रम गर्न लागेका हुन्। नेता तथा कार्यकर्ताका सुझावलाई लिपीबद्ध गरेर महासमिति बैठकमा प्रस्तुत गर्ने तयारी उनीहरूको छ।