नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी मोर्चाको स्थापनाले मुलुकमा आशा बढाएको दाबी गरेका छन्।
विराटनगरमा मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै नेपालले अहिले मुलुकभर त्यही नयाँ आशा फैलाउन देशव्यापी अभियान थालिएको उनले बताए।
‘इतिहासको रथलाई अगाडि लैजाने शक्तिका रूपमा यो अभियान सुरू भएको हो। मिसन समाजवाद यसको लक्ष्य हो’, उनले भने, ‘यसले प्रतिगामीहरूलाई प्रतिरोध गरेर जनतामा नयाँ आशा सञ्चारित गर्नु हाम्रो मुख्य ध्येय हो।’
सरकार, सदन र सडक तीन वटै ठाउँबाट राम्रो काम गर्ने र राम्रो कामका लागि दबाब दिनु मोर्चाको मुख्य लक्ष्य भएको नेपालको भनाइ थियो।
‘हामी सरकारमा छौं, त्यहाँबाट राम्रो काम गर्ने हो’, नेपालले भने, ‘सदन पनि छ, त्यहाँबाट पनि दबाब दिने, जनताको आवाज उठाउने र सडकबाट पनि दबाब अभियान चलाउने मोर्चाको मुख्य लक्ष्य छ।’
जनताको समस्यालाई केन्द्रमा राखेर जनताको जीवनको पक्षमा लाग्ने पवित्र ध्येयले मोर्चा अघि बढेको उनको दाबी थियो।
‘मोर्चाबारे अनेक शंका गरिएका छन्’, उनले भने, ‘कसैले पनि नकारात्मक टिप्पणी गर्न जरूरी छैन।’
विचार मिल्ने राजनीतिक शक्तिहरू एकतामै पुग्न सक्ने बताउँदै उनले मोर्चा विचार मिल्नेहरूको साझा अभियान भएको उनको भनाइ थियो।