प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले वर्तमान सरकारविरूद्ध षड्यन्त्र सुरू भएको दाबी गर्दै सरकार कतिन्जेल टिक्छ भन्ने कुराको कुनै चिन्ता नभएको बताएका छन्।
सरकारले समाजवादको आधार तयार पार्न गम्भीरतापूर्वक लागेको र भ्रष्टाचारविरूद्ध कठोर बनेर पेश हुँदा कुशासनका पक्षधरहरू षड्यन्त्रमा लागेको दाहालको भनाइ छ।
‘हामीले विदेशमा भएका नेपालीलाई सामाजिक सुरक्षा कोषमा समावेश गरायौं’, मिटरब्याजविरूद्धको कानुन पारित गर्यौं, नागरिकताको समस्या हल गर्न कदम चाल्यौं’, प्रधानमन्त्रीले भने, ‘यी कामहरू सामाजिक न्यायका पक्षमा भएका राम्रा काम हुन्। यस्ता कामहरूले समाजवादको भ्रूण तयार पार्ने हो।’
भ्रष्टाचारको जालो भत्काउन सरकार लागेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास, सुन तस्करी जस्ता घटनाले कुशासनका पक्षधर आत्तिएर षड्यन्त्र गर्दैछन्। यो लडाइँ कठिन छ। मोर्चामा आवद्ध पार्टीहरू मिलेर मात्रै यो लडाइँ जित्न कठिन छ। त्यसैले मेरो यो अभियानमा म जनताको साथ खोजिरहेको छु। कति दिन टिक्छु यकिन छैन, त्यसको चिन्ता पनि छैन। तर, यो लडाइँ टुंगोमा पुर्याएर मात्रै छोड्नेछु।’
आफ्नो कार्यकाल अरू बेला जस्तो निरन्तरतामा मात्रै सीमित नभएको दाहालको दाबी छ।
कोशीको नामकरणले निम्त्याएको समस्या समाधान संवादमार्फत् हुनुपर्ने बताउँदै दाहालले टकरावतिर अघि नबढ्न सबैलाई आह्वान पनि गरेका छन्।