सत्तारूढ नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले बिपी जयन्तीमा राप्रपानिकट नेपाल प्राज्ञिक परिषदले गरेको गोष्ठीमा गरेको भाषणको भिडिओ चर्चामा छ।
‘आजको सन्दर्भमा राष्ट्रिय मेलमिलाप नीतिको अन्तर्य र औचित्य’ विषयमा छलफल गर्न आयोजित कार्यक्रममा सांसद भण्डारी पनि सहभागी थिए।
उक्त कार्यक्रममा आफूले करिब आधा घन्टा बोले पनि काटछाँट गरेर छोटा भिडिओ क्लिप बनाएर स्वार्थअनुसार पोस्ट गरिएको पाइएको भण्डारीले बताए।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले पनि कांग्रेस सांसद भण्डारीले बोलेको भिडिओ क्लिप फेसबुकमा राखेका छन्।
उक्त भिडिओमा भण्डारीले बोलेका कुरा राखिएको छ।
‘…मुलुकको मजबुतीका निम्ति राजा आवश्यकता छ। सबै कुरा त हामी सम्हाल्न सकौंला भोलिका दिनमा, यदि नेपालमा साम्प्रदायिक र साँस्कृतिक द्वन्द्व भयो भने हामी सम्हाल्न सक्दैनौं।
बिपीले भन्नुभएको छ- राजाको घाँटी र मेरो घाँटी एकै ठाउँमा जोडिएको छ। देश रहे राजा रहने हो, देश रहे मैले सोचेको प्रजातन्त्र रहने हो, यति न हो बिपीले भनेको…’
भण्डारीले बोलेको यो भिडिओ क्लिप फेसबुकमा राखेका राप्रपा प्रवक्ता श्रेष्ठले भनेका छन्, ‘नेपाली कांग्रेसमा चन्द्र भण्डारीजस्ता नेता र सांसद पनि छन्। कांग्रेसले आफूलाई वामपन्थीकीकरण हुनबाट रोकेर बिपीको मेलमिलाप नीतिमा फर्कने हिम्मत गर्न सक्यो भने देश र नेपालको प्रजातान्त्रिक आन्दोलनलाई फाइदै हुनेछ। एकछिन भण्डारीलाई सुनौं।’
यो हेर्नुहोस्:
तर कांग्रेस सांसद भण्डारीले आफूले राजा चाहिन्छ भनेर नभनेको, बिपीको कुरा उद्धरण गर्दै भाषण गरेको बताएका छन्।
‘राजा चाहिन्छ भनेर मैले भनेको छैन, बिपीले भन्नुभएको कुरा उद्धरण गरेको हुँ,’ सोमबार सेतोपाटीसँग कुराकानी गर्दै उनले भने, ‘मैले बोलेको कुरा काटछाँट गरेर राम्रा कुरालाई पनि स्वार्थमा परिणत गरी भिडिओ क्लिप पोस्ट गरिएको देखेपछि मैले बोलेको पुरै भिडिओ खोजेर फेसबुकमा राखिदिएको छु।’
कार्यक्रममा धारणा राख्ने क्रममा आफूले काटकुट गरेर विभिन्न हेडलाइन नराख्नसमेत आग्रह गरेकोसमेत उनले बताए।

‘मैले बोलेको सबै कुरा फेसबुकमा राखेको छु। हरेक कुरा समयले निर्धारण गर्छ। राजा आवश्यकता पनि पर्ला, तर त्यसका लागि उहाँहरू यही संविधानको परिधिभित्रबाट आउनुपर्यो नि!,’ सांसद भण्डारीले भने, ‘अहिले संविधान चलाउँदा मुलुक नै डुब्छ, यो त सबैभन्दा कमजोर भएको अवस्था हो।’
प्राज्ञिक परिषदले गरेको कार्यक्रममा आफूले बिपीका अधिकांश कुरा र आफ्ना केही दृष्टिकोण राखेको उनले बताए।
‘बिपीले त्यो बेला गरेका कुरा मैले भनेको हुँ। बिपीले मेरो मुलुक सुरक्षित हुनुपर्छ भन्नुभएको थियो,’ उनले भने, ‘मुलुक बचाउन त्यसबेला बिपीले राजा चाहिन्छ भन्नुभएको थियो, त्यो कुरा बिपीले यस्तो भन्नुभएको थियो भनेर मैले सुनाएको थिएँ।’
उनले एक उदाहरण दिँदै जनमतभन्दा नीति बलियो हुने तर्क गरे।
‘राम बनबास जाँदा उनका परिवारका सदस्यलगायत सबै फर्काउन गएका थिए। त्यतिबेला जनताको बहुमत रामप्रति थियो तर जनमतको कदर गर्नुभएन। नीतिको कदर गर्नुभयो। बनबास जानुभयो। यो कुरा ख्याल गर्नुपर्छ,’ उनले भने।