नेपालका सांसदहरूले बंगलादेशकी सभामुख शिरीन सरमिन चौधरीसँग भेटवार्ता गरेका छन्।
बंगलादेशमा रहेका प्रतिनिधि सभा सांसदहरूले सोमबार सभामुख चौधरीसँग कुराकानी गरेका हुन्।
नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल, नेकपा एमालेका सांसद ठाकुर गैरे, नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले सभामुख चौधरीसँग भेटवार्ता गरेका हुन्।

बंगलादेशमा हुने जलवायु सम्मेलनमा भाग लिन सांसदहरू ढाका गएका थिए।
‘सभामुख चौधरीसँग भेटका क्रममा द्विपक्षीय सम्बन्धका बारेमा कुराकानी भयो। जलवायु परिवर्तनका असर, ऊर्जा व्यापार र आपसी व्यापारका विषयमा छलफल गरिएको हो,’ कांग्रेस सांसद पौडेलले भने।
सभामुखसँग भेटवार्तामा सांसदहरूसँगै राजदूत घनश्याम भण्डारी र सचिव उदय अधिकारी पनि उपस्थित थिए।