हेटौंडामा चिकित्सकमाथि कुटपिट भएपछि त्रिभुवन विश्वविद्यालय इन्स्चिट्युड अफ मेडिसिन (महाराजगन्ज)को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले ‘डाक्टर हाम्रो साथी’ भन्ने अभियान चलाउन माग गरेको छ।
बिहीबार स्ववियु आइओएम महाराजगन्ज अध्यक्ष आनन्द सिंहले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीका मुख्य स्वकीय सचिव सन्तकुमार दरैलाई ज्ञापन पत्र बुझाउँदै उक्त माग गरेका हुन्।
ज्ञापन पत्रमा स्ववियु आइओएम महाराजगन्जले तीन बुँदामा माग गरेको छ।
बुधबार हेटौंडास्थित सञ्चो अस्पतालमा दुई जना चिकित्सकमाथि कुटपिट भएको थियो। डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि कुटपिट भएको थियो। कुटपिट भएको घटनामा प्रहरीले चार जनालाई पक्राउ समेत गरेको छ। बिरामीको मृत्यु भएको भन्दै मृतक परिवारले चिकित्सकमाथि कुटपिट गरेका थिए।
स्ववियु आइओएम महाराजगन्जले यस घटनामा संलग्न दोषीमाथि कारबाही गर्न माग गरेका छन्।
७७ वटै जिल्लामा आम जनता र चिकित्सकबीच सुमधुर सम्बन्धका लागि ‘डाक्टर हाम्रो साथी’ नामक अभियान चलाउन माग गरेका हुन्।
यस्तै चिकित्सकहरूलाई आत्मसुरक्षाका लागि बन्दुक राख्न मिल्ने गरी लाइसेन्स प्रदान गर्न पनि माग गरेका छन्।