नेकपा एकीकृत समाजवादीले दसौं महाधिवेशन आगामी माघ १४ गतेदेखि १८ गतेसम्म आयोजना गर्दैछ।
गत भदौ ५ गतदेखि ७ गतेसम्म बसेको केन्द्रीय कमिटीको छैटौं बैठकले महाधिवेशनको मिति तय गरेको हो।
एकीकृत समाजवादीले महाधिवेशन तयारीका लागि कार्यतालिका बनाएर मातहतका कमिटीमा सर्कुलर गरेको छ।
आगामी असोज ५ गतेभित्र पार्टीका प्रदेश कमिटी तथा जिल्ला कमिटी र जनसंगठनका कन्द्रीय कमिटी/समितिका बैठक बसी विद्यमान कमिटीहरू अद्यावधिक तथा पार्टी सदस्यता/संगठित पार्टी सदस्यता नवीकरण एवं नयाँ सदस्यता वितरण गर्न उसले परिपत्र गरेको छ।
त्यस्तै असोजमा सञ्चालन गरिने मेची–महाकाली राष्ट्रिय अभियानको समेत योजना बनाउन निर्देशन दिएको छ।
आगामी असोज महिनाभर मेची–महाकाली राष्ट्रिय अभियान सञ्चालन गने, असोज १ गतेदेखि मंसिर २० गतेसम्म विद्यमान कमिटीहरू अद्यावधिक गर्ने र पार्टी सदस्यता/संगठित पार्टी सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण अभियान सञ्चालन गर्ने कार्यतालिका बनाएको छ।
मंसिर २५ गतेभित्र सदस्यता वितरण र नवीकरणको विवरण प्रमाणीकरणका लागि केन्द्रीय संगठन विभागमा पठाउन भनेको छ।
विभागबाट पुस १० गतेभित्र प्रमाणीकरण गरेर फिर्ता पठाइने उसले बताएको छ।
'पार्टी सदस्यता/संगठित पार्टी सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण कार्य निरन्तर चल्न सक्छ तर महाधिवेशनको प्रक्रियामा सहभागी हुन भने २०८० मंसिर २५ गतेभित्र प्रमाणीकरणका लागि केन्द्रीय संगठन विभागमा पठाइएको र केन्द्रीय संगठन विभागबाट प्रमाणीकरण भएका सदस्यले मात्र पाइने छ,' एकीकृत समाजवादीले अन्तरपार्टी निर्देशन (अपानि) मार्फत भनेको छ।
कात्तिक १५ गतेसम्म महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजहरू तयार गरिसक्ने र कात्तिक १५ देखि पुस १५ सम्म दस्तावेजहरूमा छलफल बहस चलाउने एकीकृत समाजवादीले बताएको छ।
पुस २१ मा एकैदिन प्रतिनिधि छनौट गर्ने र पुस २५ गतेभित्र प्रतिनिधि छनौटको प्रतिवेदन केन्द्रमा पठाइसक्न पनि निर्देशन दिएको छ।
माघ ५ भित्र प्रतिनिधिहरू यकिन गरिसक्ने पार्टीको कार्ययोजनामा उल्लेख छ।