प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले चीनका राष्ट्रपति सी चिनफिङसँग असोज ६ गते भेट्ने भएका छन्।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर असोज ५ गते अमेरिकाबाट सिधै चीन जान लागेका प्रधानमन्त्री प्रचण्डले ६ गते चीनका राष्ट्रपति सीसँग भेट्ने र सोही दिन हुने एसियन खेलकुदको उद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम तय भएको हो।
प्रतिनिधि सभाको शुक्रबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले चीनका प्रधानमन्त्री लि छ्याङलाई भने बेइजिङमा भेट्ने बताए।
‘चीनका राष्ट्रपति सी चिनफिङसँग मैले हाङ्जाओमा भेट्ने छु, सोही दिन म एसियन गेमको उद्घाटनमा सहभागी हुनेछ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘ चिनियाँ समकक्षी लि छ्याङसँग २५ सेप्टेम्बर (असोज ८ गते) बेइजिङमा भेट हुनेछ।’
उनले चीनको औपचारिक भ्रमणका बेला नेपाल र चीनबीचको सम्बन्धलाई मजबुत बनाउन आफ्नो प्रयास रहने पनि बताए।
प्रधानमन्त्रीका हैसियतमा प्रचण्डको यो तेस्रो चीन भ्रमण हो।
चीन भ्रमणका बेला नेपाल र चीनबीच विद्यमान द्वीपक्षीय सम्बन्ध थप उच्च र प्रगाढ हुनेछ भन्नेमा आफू विश्वस्त रहेको प्रधानमन्त्री प्रचण्डले बताए।
प्रधानमन्त्री प्रचण्डले चीनमा रहँदा छोङछिङ महानगरपालिकामा रहेको छोङछिङ एकेडमी अफ एग्रिकल्चरल साइन्सलगायत विज्ञान तथा प्रविधि विकासका क्षेत्रहरूको अवलोकन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री प्रचण्डले बताए।
‘छोङछिङको भ्रमणपश्चात् नेपालसँग सीमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जाने र त्यहाँका उच्च पदस्थ अधिकारीहरूसँग भेटवार्ता गरी नेपाल फर्कने कार्यक्रम रहेको व्यहोरा सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘कोभिड महामारीपछि प्रधानमन्त्रीको स्तरमा हुने पहिलो उच्चस्तरीय भ्रमणले नेपाल र चीन बीचको द्विपक्षीय सम्बन्धलाई थप मजबुद् बनाउनका साथै नेपालको पूर्वाधार विकास, कृषि, उर्जा, पर्यटन, स्वास्थ्य, शिक्षालगायत विविध क्षेत्रमा छिमेकी मित्रराष्ट्र चीनबाट प्राप्त सहयोगबारे छलफल हुनेछ।’
भ्रमणका बेला कोभिडका कारण नियमित हुन नसकेका द्वीपक्षीय व्यापार नाका र परम्परागत सीमा नाकाहरू खोल्ने विषयमा समेत कुराकानी प्रध्नमन्त्री प्रचण्डले जानकारी दिए।
‘नेपालको प्रधानमन्त्रीको हैसियतमा मैले गर्ने छिमेकी मित्रराष्ट्र चीनको औपचारिक भ्रमणबाट दुई देशबीच रहिआएको परम्परागत घनिष्ट र सहयोगात्मक सम्बन्ध थप सुदृढ हुने तथा आपसी सहयोगका क्षेत्रहरू थप विस्तार हुँदै जाने मैले विश्वास लिएको छु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘साथै, संघीयता लागु भएपछिको दोस्रो आम निर्वाचनपश्चात् बनेको सरकार प्रमुखको हैसियतमा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने र नेपालको चासोका विषयहरू अन्तर्राष्ट्रिय समुदायसमक्ष राख्ने एवं शान्ति, दीगो विकास, जलवायु परिवर्तन जस्ता क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोग र सद्भाव हासिल गर्न सहयोगी हुने विश्वास मैले लिएको छु।’