नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले बिहीबार जारी भएको पार्टीको अन्तरपार्टी निर्देशनलाई ‘कोत पर्व’को संज्ञा दिएका छन्।
केन्द्रीय कमिटी, पोलिट्ब्युरो, स्थायी कमिटी र सचिवालयका कुनै पनि निर्णयले नचिन्ने अन्तरपार्टी निर्देशन जारी गरिएको भन्दै उनले यसलाई कोत पर्वको संज्ञा दिएका हुन्।
‘अन्तरपार्टी निर्देशनबारे मलाई हिजो मात्रै थाहा भयो। कसले जारी गर्यो, कहाँबाट जारी भयो, कसरी र कुन प्रक्रियाद्वारा जारी गरियो मलाई केही पनि थाहा छैन। मजत्तिको नेतालाई पनि थाहा नदिई अपानि जारी हुनु भनेको मेरा लागि आठौं आश्चर्य हो,’ उनले सेतोपाटीसँग भने।
पार्टी जीवनमा अपानिको विशेष महत्त्व हुने, त्यसले पार्टीलाई जीवन्त, क्रियाशील राख्ने र निर्णयहरूको सञ्चार गर्ने भन्दै हिजो जारी गरिएको अपानिलाई कमिटीगतभन्दा पनि आफूखुसी जारी गरिएको रूपमा बुझ्नुपर्ने उनले बताए।
यो पनि पढ्नुस्:
‘अपानि संस्थागत रूपमा जारी गरिनुपर्छ। हिजो जारी गरिएको अपानि त करिबकरिब कोत पर्वजस्तै छ। त्यसकारण युवा र पार्टीका इमान्दार नेता, कार्यकर्तामा व्यापक असन्तुष्टि सिर्जना गरेको छ, विद्रोहको भाव पैदा गरेको छ,’ उनले भने।
व्यापक असन्तुष्टि सिर्जना गर्ने गरी अपानि कसरी जारी भयो भनेर आफूले महासचिव घनश्याम भूसालसँग पनि जवाफ मागेको खनालले बताए।
‘मैले अपानि जारी भएको विषयमा महासचिवसँग पनि कुरा गरिसकेको छु। उहाँले असोज १ गते सचिवालय बैठक राखेर छलफल गर्ने भन्नुभएको छ। हामी त्यही बैठकको प्रतीक्षामा छौं,’ उनले भने।
उनले त्यतिञ्जेल केन्द्रीय कमिटी र सचिवालय सदस्यहरूलाई धैर्य गर्न पनि आग्रह गरे।
विशेष गरेर एकीकृत समाजवादीमा कार्य विभाजनप्रति असन्तुष्टि छ। केन्द्रीय सदस्य राजु गुरूङले कार्य विभाजनप्रति असन्तुष्टि जनाउँदै राजीनामाको घोषणा गरेका छन्।
दैलेखको सहइन्चार्ज तोकिएकी सावित्री मल्ल, युवा संघका महासचिव दीपक जिएमले पनि पार्टीमा निष्क्रिय रहने घोषणा गरेका छन्।