सत्तारूढ नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले भ्रष्टाचारले ग्रस्त समाजमा सुशासनको कायम हुन नसक्ने बताएका छन्।
त्रिभुवन विश्वविद्यालयको द्वन्द्व, शान्ति र विकास अध्ययन विभागले आइतबार गरेको अन्तर्क्रियामा कांग्रेस सांसदसमेत रहेका केसीले भ्रष्टाचार व्याप्त समाजमा सुशासन कायम हुन नसक्ने बताए।
‘अहिले दलहरूप्रति वितृष्णा छ, सुशासनको कुरा सरकारले गरे पनि भ्रष्टाचारविहीन समाजमा मात्र सुशासन सम्भव हुन्छ,’ केसीले भने, ‘अहिले चारैतिर भ्रष्टाचार छ, सुशासन खोइ?’
उनले सामाजिक द्वन्द्वसमेत फैलिएको भन्दै सरकारले प्रभावकारी काम गर्न नसकेको टिप्पणी गरेका छन्।
उनले समाजमा बहसको सट्टा विवाद, लोकतान्त्रिकरणको सट्टा समग्र राजनीतिककरण, स्वतन्त्रताको नाममा अराजकता, उदारताको नाममा दण्डविहीनताको अवस्था देखिएको बताए।
उनले देशमा सुशासन आवश्यक रहेको बताए।
‘मान्छेले मान्छेलाई खुकुरी प्रहार गर्ने अवस्था आइसकेको छ, त्यसलाई निर्मुल पार्न सरकार लाग्नुपर्छ,’ उनले भने, ‘लोकतान्त्रिक प्रणालीमा व्यक्ति हावी हुँदा समाज प्रणालीको भन्दा पनि व्यक्तिको पछि लाग्न थाल्यो।’